LISTEN LIVE RADIO

संरक्षणको पर्खाइमा सहिद कृष्णसेन इच्छुकको घर



संरक्षणको पर्खाइमा सहिद कृष्णसेन इच्छुकको घर

दिवाकर पोख्रेल, भालुवाङ २६ असोज 

दाङको भालुवाङ बजारबाट राप्ती नदी तरेपछि बाँयातर्फ रहेको सानो झुप्रो घर । तर सबैले सहिदको घर भन्थे, रोक्थे, हेर्थे, फोटो खिच्थे । अहिले त्यो घर पनि रहेन, घर ढलेको छ, ईंटा ढुङ्गा यत्रतत्र भएका छन् । सहिद घर भनेर भन्दा धेरैले स्याहार पुगेन भन्छन् ।

यो भनाइ दाङ सँग सीमा जोडिएको अर्घाखाँची जिल्लाको शीतगङ्गा गाउँपालिका वडा नम्बर ८ शातमारा निवासी पूर्ण घर्तीको हो । उनले भनेजस्तै सहिदको घरमा स्याहारसुसार हुन्छ, सालिक बन्छ, ऐतिहासिक गतिविधि हुन्छन् । तर साहित्यका र पत्रकार रुपमा परिचित सहिद कृष्ण सेन ‘इच्छुक’को घर र सम्पत्ति हेर्दा सबैको मन भक्कानिन्छ ।

हरेक परिवर्तनको साक्षी रहेको सहिद इच्छुकको घरले उनको सपना र मार्ग पछ्याएर हिँड्नेलाई कतै गिज्जाइरहेको त होइन भन्ने भान हुन्छ । सोही ठाउँमा इच्छुक प्रतिक्षालय, हाइवेमा प्रवेशद्वार निर्माण भएका छन् । अर्घाखाँची क्षेत्रमा पनि प्रवेशद्वार र अन्य इच्छुकसँग सम्बन्धित गतिविधि भएका छन् । सहिद कृष्णसेन इच्छुकको थातथलो मासिँदै जाँदा समेत संरक्षण हुन सकेको छैन ।

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ८ सातमारामा पर्ने सहिद इच्छुकको घर अहिले पूर्णरुपमा भत्केको छ । पश्चिम क्षेत्रबाट राप्ती नदीले जग्गा कटान गर्दा र बड्कापथ कुलो सिँचाइ योजना निर्माण गर्दा जग्गा मासिँदै जान थालेको छ ।

सहिद कृष्णसेन इच्छुकको घर सम्पतिको संरक्षण गर्नको लागि स्थानीय सरकारले थालेको प्रयास जग्गाको स्वामित्वका कारण सफल हुन सकेको छैन । अर्घाखाँची शीतगङ्गा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुकेश आलेले वडास्तरबाट इच्छुकको थातथलोको संरक्षण गर्न पहल भए पनि परिवारमा जग्गाको अंशियारमा समस्या भएकाले समस्या भएको बताए । “वडाले त्यस क्षेत्रको गुरुयोजना बनाएर पार्क, इच्छुक सङग्रहालय बनाउने योजना थियो, जग्गा स्वामित्वकै कारण गर्न सकिएको छैन ।” उनले भने ।

दाङको भालुवाङ पुलको पूर्वाेत्तर क्षेत्रमा रहेको उक्त जग्गाको क्षेत्रफल करिब पाँच रोपनी छ । जग्गा इच्छुकका बुवा भीमबहादुर सेनको नाममा छ । बुवाको मृत्यु भइसकेका कारण इच्छुकका भाइका छोरा, छोरी र श्रीमती तक्मा केसी जग्गाको अंशियार हुनुहुन्छ । उनीहरू अहिले काठमाडाैँ बसेका छन् । इच्छुककी श्रीमती तक्मा केसीले आफ्नो हिस्सामा पर्ने जग्गामा इच्छुकसँग सम्बन्धित गतिविधि गर्न खोजे आफ्नो सहमति हुने बताए । “जग्गा अहिले संयुक्त रुपमै छ, सबै जग्गालाई प्रयोग गर्नुभन्दा आवश्यक रुपमा जग्गाको संरक्षण गर्दै स्मृति पार्क, सालिक बनाउन कार्यमा मेरो सहयोग हुन्छ ।” उनले भने ।

इच्छुकको नाममा साहित्यिक तथा पत्रकारितासम्बन्धी उहाँको घरमा आयोजना गर्दा पत्रकार र साहित्यकारले इच्छुक सङग्रहालय बनाउन आग्रह गरे पनि घरको समेत संरक्षण हुन नसक्नु दुःखद पक्ष भएको स्थानीय राप्ती गाउँपालिका १ भालुवाङका भिमार्जुन सुवेदीले जानकारी दिए । कृष्णसेन इच्छुक साँस्कृति प्रतिष्ठानले सहिद इच्छुकको जग्गाको संरक्षण गर्नको लागि पहल गरे पनि सार्थकता पाउन सकेको छैन ।

प्रतिष्ठानका अध्यक्ष हीरामणि दुःखीले परिवर्तनका होनहार योद्धा सहिद इच्छुकको थातथलोको संरक्षण गर्नको लागि जग्गाको स्वामित्व प्रतिष्ठानमा ल्याउन कानुनी अड्चन आएका कारण समस्या भएको बताए । “शुरुवातमा पार्टीले संरक्षणको लागि पहल थालेको हो, सेनजीकी धर्मपत्नीसँग पनि कुरा भयो, जग्गा बाँडफाँड नभएका कारण काम हुन सकेन ।”

सहिद कृष्ण सेन इच्छुकलाई २०५२ सालमा तात्कालिन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धको समयमा युद्ध पत्रकारिता र साहित्य गतिविधि गर्दा गर्दै राज्यपक्षले गिरफ्तार गरी हत्या गरेको थियो । जनादेश पत्रिकाका सम्पादकसमेत रहनुभएका इच्छुकले प्रकाशित अप्रकाशित साहित्यिक सामग्री रचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे