LISTEN LIVE RADIO

राप्ती २ मा २१६ जनाको स्वास्थ्य परिक्षण गर्दा १ सय ६१ जना सुगरका बिरामी फेला



राप्ती २ मा २१६ जनाको स्वास्थ्य परिक्षण गर्दा १ सय ६१ जना सुगरका बिरामी फेला

भालुवाङ १३ फागुन । दाङको राप्ती गाउँपालिका वडा नं.२ मा १ सय ६१ जना सुगरका बिरामी फेला परेका छन् ।

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालय दाङको आयोजना एवम् राप्ती गाउँपालिका दाङको समन्वयमा शुक्रवार आधारभूत स्वास्थ्य सेवा केन्द्र लालमटियामा आयोजना गरिएको मधुमेह, उच्च रक्तचाप र मृगौला रोग सम्बन्धी स्क्रीनिङ शिविरमा उक्त संख्यामा मधुमेह (सुगर)का बिरामी फेला परेका हुन् । शिविरमा ४० वर्षदेखि माथिका मधुमेह तथा उच्च रक्तचाप र मृगौला रोग सम्बन्धी औषधी सेवन नगरेका १ सय ५० देखि २ सयजना व्यक्तिहरुको निःशुल्क स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम अन्तरगत सो शिविर सञ्चालन गरिएको हो । जसमा ४० देखि ६० वर्ष उमेर समुहका १ सय २ जना नागरिकमा मधुमेह (सुगर) देखिएको छ भने ६० वर्ष माथिका ५९ जना जेष्ठ नागरिकमा मधुमेह (सुगर) देखिएको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।

यसै गरि ५१ जना उच्च रक्तचापका बिरामी फेला परेका छन् । जसमा ४० देखि ६० वर्ष उमेर समुहका २७ जना नागरिकमा उच्च रक्तचाप देखिएको छ भने ६० वर्ष माथिका २४ जना जेष्ठ नागरिकमा उच्च रक्तचाप देखिएको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् । त्यस्तै १९ जना मृगौला रोगका बिरामी फेला परेका छन् । जसमा ४० देखि ६० वर्ष उमेर समुहका ८ जना नागरिकमा मृगौला रोग देखिएको छ भने ६० वर्ष माथिका ११ जना जेष्ठ नागरिकमा मृगौला रोग देखिएको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् ।

रोग लाग्न नदिन तथा स्वस्थ भएर बाँच्न खानापान, आनीबानी र जिवनशैलीमा सुधार ल्याउन आवश्यक रहेको स्वास्थ्य कार्यालय दाङका ल्याप टेक्निसियन निरिक्षक उज्जवल कुमार पौडेल बताएका छन् । पछिल्लो समय मानिसहरूमा मधुमेह, उच्च रक्तचाप, मृगौला रोग तथा क्यान्सर भयावह अवस्थामा देखापरेकाले ती रोगबाट बच्ने उपायनै जिवनशैली सुधार र खानपाननै रहेकोले त्यसमा ध्यान दिन उनले आग्रह गरेका छन् । समय समयमा स्वास्थ्य परिक्षण नगर्दा पनि रोग बढ्ने गरेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे