LISTEN LIVE RADIO

पत्रकार महेश रिजाल अस्वस्थ : मुटुमा समस्या आएपछि काठमाडौंकाे गङ्गालाल हृदयरोग अस्पतालमा उपचार हुँदै



पत्रकार महेश रिजाल अस्वस्थ : मुटुमा समस्या आएपछि काठमाडौंकाे गङ्गालाल हृदयरोग अस्पतालमा उपचार हुँदै

भालुवाङ ३ माघ । पत्रकार महेश रिजालको मुटुका समस्या देखिएपछि अहिले काठमाडौँ बाँसबारीस्थित गङ्गालाल हृदयरोग अस्पतालमा उपचार भइरहेको छ ।

उनकाे मुटुमा समस्या देखिएपछि पुस २८ गते शनिबार दिउसो ३ बजे देखि रिजाल अस्पतालमा भर्ना भएका हुन् । दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-१, भालुवाङ स्थायी घर रहेका पत्रकार रिजाल प्रगतिशील पत्रकार सङ्घ, नेपालका केन्द्रीय सचिवालय सदस्य, राप्ती प्रेस मञ्चका प्रमुख संरक्षक तथा राष्ट्रिय जनमाेर्चा दाङ जिल्ला उपाध्यक्ष समेत रहेका छन् ।

यता रिजालको सहयोगमा खटिएका राजमो कार्यकर्ता मदन पाण्डेका अनुसार उनको स्वास्थ्यावस्था सुधारोन्मुख छ । ‘शनिबार उहाँ एयरपोर्टमा उत्रिँदा बोल्न सक्नुहुन्नथ्यो; हिँड्न सक्नुहुन्थ्यो; चर्को खोकी थियो’ पाण्डेले भने– ‘हाल उनको स्वास्थ्यावस्था सुधारोन्मुख छ । खोकी धेरै कम भएको छ तर खानामा अरुची भने कायमै छ ।’ पाण्डेका अनुसार शनिबारको तुलनामा उहाँको स्वास्थ्यावस्था सामान्यतर्फ गइरहेको छ ।

अस्पतालमा रिजालको उपचार डा. रविन मल्लको टिमले गरिरहेको छ । पत्रकार रिजालको २०७६ सालमा ओपन हर्ट सर्जरी भएर मुटुमा पेसमेकर लगाइएको थियो । पुसका दोस्रो हप्तादेखि श्वासप्रश्वासमा समस्या बढेको, जिउ भारी भएको, खाना नरुचेको, चर्को खोकी लागेको, खुट्टा सुन्निएको जस्ता समस्यासँगै रिजाल पुस २३ गते भालुबाङमा चक्कर आएर लडेका थिए ।

पुस २४ गते भालुबाङ अस्पताल पुग्दा उहाँलाई बुटवलस्थित गौतम बुद्ध अस्पताल रेफर गरिएको थियो । गौतम बुद्ध अस्पतालले सुगर, प्रेसर बढेको र मुटुसम्बन्धी समस्या देखा परेको भन्दै गङ्गालाल हृदयरोग अस्पतालमा जान सुझाव दिएको थियो ।

त्यसको पाँच दिनपछि उनी काठमाडौँ आएका थिए । अस्पतालले इमर्जेन्सीमा भर्ना गरेर ईसीजी लगायतका विभिन्न स्वास्थ्य परीक्षण गरेर औषधी चलाएको थियो । रिजाल भालुवाङ स्थित ईलाका प्रहरी कार्यालय भालुवाङकाे पूर्व सानाे झुपडीमा एक्लै बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे