पेट्रोलियम पदार्थमा फेरि मूल्य बढ्याे



पेट्रोलियम पदार्थमा फेरि मूल्य  बढ्याे

काठमाडौं २२ चैत्र । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल र डिजेल/मटितेलको साविकको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजेल/मटितेलको १०३ रूपैयाँ कायम भएको छ । गत चैत ३ गते पनि निगमले मूल्य बढाएको थियो ।

इन्डियन आयल कर्पोरेसनबाट १ अप्रिल २०२१ मा प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन गरेको हो । पछिल्ला दिनहरुमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर भएतापनि मासिक नोक्सानी अत्याधिक रहेको निगमले बताएको छ । स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिले निर्दिष्ट गरेअनुसार आइतबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढेको हो । खाना पकाउने ग्यास तथा हवाई इन्धनको बिक्री  मूल्य भने हाललाई यथावत नै राखिएको निगमले जनाएको छ ।

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ७.३९ रुपैयाँ, डिजेलमा प्रति लिटर १.९४ रुपैयाँ घाटा छ । ग्यासमा प्रतिसिलिन्डर ४१८.४७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । १५ दिनमा निगमलाई ८८ करोड घाटा हुने र  ग्यासमा मात्रै पाक्षिक रुपमा ६०.१३ करोड घाटा रहेको निगमले बताएको छ । सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा सञ्चित नाफाबाट व्यवस्थापन गरिने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे