शिवसवरी धाममा हुने सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्न आज कानुन मन्त्री केसी आउँदै



शिवसवरी धाममा हुने सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्न आज कानुन मन्त्री केसी आउँदै

सिसहनियाँ २७ फागुन । देउखुरीको राप्ती गाउँपालिका–५ मा अवस्थित शिवसवरी धाम पहरूवामा हुन लागेको महाशिवरात्री धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्न लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलबहादुर केसी आज त्यहाँ आउन लागेका छन् ।

फागुन २६, २७ र २८ गते सम्म सञ्चालन हुने महाशिवरात्री तथा धार्मिक मेलाको फागुन २७ गते महाशिवरात्रीको दिन बिहान ११ बजे उद्घाटन गर्न कानुनमन्त्री केसी आउन लागेको आयोजक शिवसवरी धाम प्रतिष्ठानका अध्यक्ष मिश्रुलाल चौधरीले जानकारी दिएका छन् । साथै आज हुने विशेष कार्यक्रममा सहभागिताका लागि आम देउखुरीबासीलाई आयोजकले अनुरोध समेत गरेको छ । साथै मेलामा दुई दर्जन बढी राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने शिवसवरी धाम धार्मिक प्रतिष्ठानका उपाध्यक्ष तथा सांस्कृतिक संयोजक संयोजक राजेन्द्र चौधरीले जानकारी दिएका छन् ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका अन्तर्गत दाङ देउखुरीको राप्ती गाउँपालिका–५ स्थित शिवसवरी धाम स्थल पहरूवामा गत बर्ष जस्तै यस बर्ष पनि महाशिवरात्री तथा धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । धामको स्थापनाकाल बिगत सात बर्ष देखि उक्त धाममा प्रत्येक बर्ष महाशिवरात्रीमा धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

मेलामा विभिन्न व्यापारिक तथा पुजा तथा फलफूलका स्टलहरू समेत रहने समितीकी महासचिव धना चौधरीले जानकारी दिइन् । साथै मेला अवधिभर तीन दिन धाममा पुजापाठका लागि आउने र सांस्कृतिक कार्यक्रममा सहभागीहरूलाई भण्डाराको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे