जखेरा तालमा अत्याधुनिक मोटर सहितको डुङ्गा संचालन



जखेरा तालमा अत्याधुनिक मोटर सहितको डुङ्गा संचालन

लमही २६ फागुन । महाशिवरात्री पर्वको अवसर पारी देउखुरीको जखेरातालमा अत्याधुनिक डुङ्गा संचालनमा आएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी स्थित दाङ जिल्ला लमही नगरपालिका वडा नम्बर ३ मा रहेको जखेरामा गत वर्ष जखेरा तालमा भित्र्याइएको ५ लाख २७ हजारको फाइवर डुङ्गामा बुधबार करिव ३ लाख बराबरको मोटर जडान गरिएको जखेरा शिवालय धार्मिक संरक्षण विकास प्रतिष्ठानका महासचिव लोकमणी बन्जाडेले जानकारी दिएका छन् ।शिवरात्री पर्वको अवसरमा डुङ्गा सयर गरि मन्दिर सम्म पुग्ने दर्शनार्थीहरुलाई समस्या नपरोस भनी मोटर जडान गरि डुङ्गा संचालनमा ल्याइएको ताल संरक्षण समितिको भनाई छ । जखेरा शिवालय धार्मिक संरक्षण विकास प्रतिष्ठानका पदाधिकारी सम्मेलित एक समारोहका बिच नेपालको राष्ट्रिय झण्डा फहराएर मोटर जडित अत्याधुनिक डुङ्गाको सुरुवात गरिएको छ । सो डुङ्गामा एक सिप्टमा ३० देखि ३६ जना सम्म यात्रु बोक्न सक्ने क्षमता रहेको लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बाबुराम चौधरीले जानकारी दिएका छन् ।

 

विस्तारित रुपमा आफ्नो स्वरुप परिवर्तन गरिरहेको जखेरा ताल लुम्बिनी प्रदेशको केन्द्रविन्दुका रुपमा परिचित रहेको छ । साथै आउँदो बिहिवारका दिन जखेरा तालमा शिवरात्री विशेष साँस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको छ । भोली महाशिवरात्रीका दिन मेला हेर्न जना पुजापाठका लागि करिव ५ हजार दर्शक तथा भक्तातुजन आउने आकलन गरिएको वडा अध्यक्ष चौधरीको भनाई रहेको छ ।
लमही नगरपालिका वडा ३ मा रहेको जखेरा ताल चुरे पहाडको फेदमा अवस्थित छ ।

पूर्व र पश्चिममा वन जङ्गल, दक्षिणतर्फ सुन्दर मुसुण्डी गाउँ तथा उत्तरतर्फको चुरे पहाडको फेदमा सो ताल रहेको छ । लमही बजारबाट ६ किलोमिटर पूर्व–पश्चिम राजमार्गबाट नजिकै रहेकाले पनि भारत तथा तेस्रो मुलुकबाट पनि सो तालको अवलोकनमा पर्यटक आउने गरेका स्थानीय बताउँछन् । झण्डै सात फिट गहिराइ र साढे सात बिघा क्षेत्रफलमा फैलिएको तालको वरपर वनजङ्गल रहेको छ । गणेश मन्दिर, त्रिसिद्धेश्वरी महादेव, कालिका मन्दिर र राधा कृष्ण मन्दिरले पनि थप आकर्षण दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे