विप्लव समूहका नेतालाई पक्राउ नगर्न प्रहरीलाई सरकारको निर्देशन
काठमाडौं २० फागुन। प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका नेता, कार्यकर्तामाथिको धरपकडलाई रोक्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ । वार्ता सुरु भएलगत्तै गृह मन्त्रालयले समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको हो । स्रोतका अनुसार समूहसँग वार्ता गर्न समिति गठन गर्ने तयारी हुने वित्तिकै गृहसचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएका थिए ।
सरकारले २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएसँगै प्रहरीले विप्लव समूहका नेता-कार्यकर्तालाई जहाँ भेट्यो, त्यही पक्राउ गर्ने नीति अख्तियार गर्दै आएको थियो । विप्लव समूहले वार्तामा बस्नु अगावै प्रतिबन्ध फुकुवा र जेलमा रहेका नेता, कार्यकर्ताको रिहाइ हुनुपर्ने माग राखेको थियो । समूहले वार्ताका लागि आउँदा विगतमा जस्तो नेता, कार्यकर्ताको गिरफ्तारी नहुने ग्यारेन्टी खोजेको स्रोतको भनाइ छ ।
तर, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले वार्ताको भइरहेका वेला कसैलाई पक्राउ नगरिने र वार्तामा बसेर प्रतिबन्ध फुकुवा हुने आवश्वसन दिएका थिए । तत्कालै प्रतिबन्ध फुकुवा गर्ने विषयमा वालुवाटार विश्वस्त भइनसकेकाले वार्ताबाटै त्यसबारे टुङ्ग्याइने भनिएको गृह स्रोतको दाबी छ । समूहसँग बुधबार एकैदिन दुई पटक प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको छ । वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको सरकारी पक्षको दाबी छ । तर, विप्लव समूहले भने हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन ।
मंगलबारमात्रै सरकारले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको नेतृत्वमा वार्ता समिति बनाएको थियो । लगत्तै प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लवले पनि पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता समिति बनाएका थिए ।