दाङको नारायणपुरमा विमानस्थल निर्माणको प्रक्रिया सुरु



दाङको नारायणपुरमा विमानस्थल निर्माणको प्रक्रिया सुरु

दाङ १० फागुन। दाङको नारायणपुरमा अन्तराष्ट्रिय स्तरको विमानस्थल निर्माणको प्रक्रिया अघि बढेको छ । पछिल्लो चार वर्षयता बजेटमा समावेश गरिएपनि अघि बढ्न नसकेको अबस्थामा पछिल्लो समय भने प्रक्रिया अघि बढाउन थालिएको छ ।

संसद् विघटन पछि अहिले चासोकासाथ काम अघि बढिरहेको छ । गत महिना प्रारम्भिक अध्ययन सकिएको आयोजनाका लागि विस्तृत अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन –इआइए)अगाडि बढाउन पर्यटन मन्त्रालयमा प्रस्ताव पठाइएको छ । पर्यटन मन्त्रालयका अधिकारीहरूले दाङमा दोस्रो विमानस्थल उपयुक्त नदेखिएको भन्दै बनाउन नहुने निर्णय नगरेपछि पर्यटनमन्त्री भानुभक्त ढकालले मन्त्रिपरिषद्बाट निर्णय गराउने तयारीमा छन् ।

हालको टारीगाउँ विमानस्थलबाट १० किलोमिटरनजिक घोराही उपमहानगरपालिकाभित्र रहेको नारायणपुरमा दोस्रो विमानस्थल निर्माण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रारम्भिक अध्ययन सम्पन्न गरेर विस्तृत अध्ययन (डिपिआर) र वातावरणीय प्रभाव मूल्यांकन –इआइए) प्रतिवेदनको तयारी प्राधिकरणले गरेको हो । प्राधिकरणले ५ करोड खर्च गरेर प्रारम्भिक प्रतिवेदन तयार पारिसकेको छ । अध्ययनले ७ अर्ब रुपैयाँ विमानस्थल निर्माणमा खर्च हुने अनुमानसमेत गरिएको छ । १६ सय मिटर लामो धावनमार्ग तयार पारिनेछ ।

प्रारम्भिक अध्ययनअनुसार विमानस्थल निर्माणका लागि ७ सय हेक्टर जमिनको मुआब्जा दिनुपर्ने हुन्छ । हालको विमानस्थल रहेको टारीगाउँ विमानस्थल विस्तार गर्न नसकिने निष्कर्षसमेत प्राधिकरणले निकालेको छ । अहिलेको विमानस्थल विस्तारका लागि ठूलो रकम मुआब्जामा खर्च हुने देखेर नयाँ विमानस्थल निर्माणलाई अगाडि बढाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए ।

‘टारीगाउँ विमानस्थललाई मुआब्जा दिएर विस्तार गर्नुभन्दा नयाँ विमानस्थल निर्माणमा खर्च कम लाग्ने देखेर ठूलै क्षेत्रफल लिएर भविष्यमा अन्तर्राष्ट्रियस्तरमा समेत विस्तार गर्न सकिने विमानस्थल निर्माणलाई अगाडि बढाएका हौँ,’ महानिर्देशक राजन पोखरेलले बताए । अहिलेको धावनमार्ग ८ सय ३२ मिटरको छ । उक्त विमानस्थलको विस्तारविना कुनै पनि ठूला जहाज उडान–अवतरण गर्न सकिँदैन । ‘दाङको हालको विमानस्थलमा ट्विनअटर र साना जहाज मात्रै उडान गर्न सक्छन्,’ पोखरेलले भने, ‘नयाँ विमानस्थल निर्माणपछि हालको विमानस्थललाई ‘फ्लाइङ स्कुल’ बनाउने योजना छ ।’

टारीगाउँमा यात्रु नपाएपछि उडान भएन

दाङको टारीगाउँ विमानस्थलमा नेपाल वायुसेवा निगम र समिट एयरले गत वर्ष उडान सुरु गरेका थिए । तर, यात्रु नपाएपछि अहिले उडान स्थगित गरेका छन् । साना विमानस्थल मात्रै अवतरण गर्न सकिने विमानस्थलमा स्थानीयहरूले उडान गर्न माग गर्दै आए पनि यात्रु नपाएपछि एयरलाइन्सहरूले उडान गर्न मानेका छैनन् । सरकारले भने २०६९ सालमा ७ करोड खर्च गरेर धावनमार्गमा कालोपत्रे राखेको थियो ।

ठूला नेताको लबिङ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी दाङको देउखुरीमा राख्ने प्रदेश सभामार्फत निर्णय गराएसँगै दाङमा ठूलो विमानस्थल बनाउने लबिङलाई तीव्र पारेका छन् । आर्थिक वर्षको ०७६/ ७७ मा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन बजेटमा समावेश गरिएको थियो । तर, पुनः आर्थिक वर्ष ०७७र७८ को बजेटमा आन्तरिक विमानस्थल बनाउने भनेर संशोधन गरिएको थियो ।

लुम्बिनी प्रदेशको भैरहवामा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा रहेको छ । भैरहवामा भौतिक निर्माणमा ७ अर्ब तथा मुआब्जा वितरणमा २३ अर्ब रुपैयाँ खर्च हुँदै छ । लुम्बिनी प्रदेशको नेपालगन्जमा पनि आन्तरिक विमानस्थल रहेको छ । यता गुल्मीमा विमानस्थल निर्माण सम्पन्न भए पनि सञ्चालनमा भने आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे