लमही-७ कप्तानगञ्जमा अटोको ठक्करबाट एक वृद्धको मृत्यु
देउखुरी ७ साउन । दाङको लमही नगरपालिका-७ कप्तानगञ्जमा अटोको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
बिहीबार बेलुका करिब ७:४५ बजे लमहीबाट पश्चिमतर्फ जाँदै गरेको रा १ ह ३७४१ नम्बरको अटोले पूर्वतर्फ पैदल हिँडिरहेका लमही नगरपालिका-७, कप्तानगञ्ज निवासी ७२ वर्षीय रामबहादुर घर्ती मगरलाई पम्प नजिक ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका घर्ती मगरको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि घोराहीस्थित सञ्जीवनी शिक्षण अस्पतालमा रेफर गरिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनामा संलग्न अटो र चालक लमही नगरपालिका-७, उचानिम्बु निवासी ४० वर्षीय जितराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
