दुई पुस्ताको सोच : मातृ तथा बाल स्वास्थ्यमा परिवर्तनको सन्देश बोकेको नाटक प्रदर्शन 



दुई पुस्ताको सोच : मातृ तथा बाल स्वास्थ्यमा परिवर्तनको सन्देश बोकेको नाटक प्रदर्शन 

भालुवाङ ६ साउन । नेपालका दुर्गम क्षेत्रमा अझै पनि गर्भवती महिला, सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्यसँग सम्बन्धित धेरै निर्णयहरू परम्परागत सोच, घरेलु मान्यता र परिवारका ज्येष्ठ सदस्यहरूको अनुभवमा हुने गरेका छन्।

समय परिवर्तन भइसकेको छ, स्वास्थ्य सेवा र जानकारीको पहुँच विस्तार भएको छ, तर कतिपय घरपरिवारमा पुरानो सोच र नयाँ पुस्ताको वैज्ञानिक दृष्टिकोणबीच अझै द्वन्द्व देखिन्छ। यही यथार्थलाई केन्द्रित गरि  दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले जनचेतनामूलक नाटक “दुई पुस्ताको सोच” प्रदर्शन गरेको छ । जाइका नेपालको सहयोगमा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार दाङको भालुवाङमा आयोजना गरेको मातृ तथा बाल स्वास्थ्य पुस्तिका परियोजनाको शुभारम्भ कार्यक्रम सो संस्थाले नाटक मार्फत संदेश दिन खोजेको छ ।

मातृ तथा बाल स्वास्थ्य पुस्तिकाको प्रयोगलाई समुदायस्तरमा प्रवर्द्धन गर्नु, गर्भवती महिला र बालबालिकाको नियमित स्वास्थ्य निगरानीलाई प्रभावकारी बनाउनु तथा परिवारका सदस्यहरूलाई स्वास्थ्यप्रति जिम्मेवार बनाउने उद्देश राखिएको छ। नेपाल सरकारले मातृ तथा शिशु मृत्युदर न्यूनीकरण तथा सुरक्षित मातृत्व प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। तीमध्ये मातृ तथा बाल स्वास्थ्य पुस्तिका पनि एक महत्वपूर्ण साधन हो। यस पुस्तिकाले गर्भावस्थादेखि बालबालिकाको प्रारम्भिक विकाससम्मका सम्पूर्ण स्वास्थ्य विवरण अभिलेख गर्न मद्दत पुर्‍याउँछ। तर पुस्तिकाको उपयोगिता बारे सबै समुदायमा पर्याप्त जानकारी नहुँदा यसको प्रभावकारी प्रयोग हुन सकेको छैन। यही अवस्थालाई परिवर्तन गर्न आशाका किरण संस्थाले नाटकमार्फत जनचेतना फैलाउने प्रयास गरेको हो।

नाटकको कथा एउटा सामान्य नेपाली परिवारको परिवेशमा आधारित छ। परिवारमा गर्भवती बुहारी मिना, उनका श्रीमान् हरि, सासू पार्वती र ससुरा कृष्ण रहेका छन्। घरभित्र पुरानो पुस्ताको सोच र नयाँ पुस्ताको बुझाइबीच देखिने मतभेदले कथालाई अगाडि बढाउँछ। सासू–ससुराले आफ्ना अनुभवका आधारमा निर्णय गर्न खोज्छन् भने छोरा–बुहारी स्वास्थ्यकर्मीको सल्लाह र आधुनिक स्वास्थ्य अभ्यासलाई प्राथमिकता दिन चाहन्छन्। नाटकमा गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने, सन्तुलित आहार खानुपर्ने, खोप तथा स्वास्थ्य परीक्षणलाई बेवास्ता गर्न नहुने, स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी सेवा लिनुपर्ने तथा नवजात शिशुको नियमित निगरानी आवश्यक हुने विषयलाई प्रभावकारी ढंगले प्रस्तुत गरिएको छ। स्वास्थ्यकर्मीको भूमिकामार्फत मातृ तथा बाल स्वास्थ्य पुस्तिकाको प्रयोग कसरी गर्ने, त्यसमा भएका विवरण किन महत्वपूर्ण छन् र यसले आमा तथा शिशुको स्वास्थ्य सुरक्षामा कसरी सहयोग पुर्‍याउँछ भन्ने सन्देश सरल भाषामा दिइएको छ।

नाटकले एउटा महत्वपूर्ण सामाजिक यथार्थ पनि उजागर गरेको छ। धेरैजसो दुर्गम परिवारमा गर्भवती महिलाको स्वास्थ्यलाई महिलाको मात्र विषय मान्ने प्रवृत्ति अझै विद्यमान छ। तर वास्तवमा सुरक्षित मातृत्व केवल महिलाको जिम्मेवारी होइन, सम्पूर्ण परिवारको साझा दायित्व हो। गर्भावस्थादेखि बच्चाको जन्म र हुर्काइसम्म परिवारका सबै सदस्यको सहयोग आवश्यक हुन्छ। नाटकले यही सन्देशलाई सशक्त रूपमा स्थापित गरेको छ। विशेषगरी सासू–बुहारी सम्बन्धलाई केन्द्रमा राखेर प्रस्तुत गरिएको संवादले दर्शकलाई भावनात्मक रूपमा जोड्ने प्रयास गरेको छ। पुरानो पुस्ताले अनुभवको आधारमा दिएको सुझाव र नयाँ पुस्ताले वैज्ञानिक आधारमा राखेका तर्कबीचको अन्तरलाई देखाउँदै अन्ततः दुवै पुस्ता सकारात्मक निष्कर्षमा पुग्ने सन्देश दिइएको छ। यसले समाजमा पुस्तागत सोचको दूरी घटाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

स्वास्थ्य क्षेत्रमा काम गर्ने विज्ञहरूका अनुसार गर्भवती महिलाले कम्तीमा आठ पटक स्वास्थ्य परीक्षण गराउनुपर्ने, आवश्यक खोप लगाउनुपर्ने तथा स्वास्थ्यकर्मीको निगरानीमा रहनुपर्ने हुन्छ। तर कतिपय अवस्थामा जानकारीको अभाव, आर्थिक समस्या वा सामाजिक मान्यताका कारण महिलाहरू स्वास्थ्य संस्थासम्म पुग्न सक्दैनन्। यस्तो अवस्थामा जनचेतनामूलक नाटक, भिडियो तथा समुदायस्तरीय संवाद कार्यक्रमहरू प्रभावकारी माध्यम बन्न सक्छन् ।कलाकारहरूले ग्रामीण समाजको वास्तविक जीवनशैली, पारिवारिक सम्बन्ध र स्वास्थ्यसम्बन्धी व्यवहारलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्। उनीहरूको अभिनयले नाटकलाई थप प्रभावकारी र सन्देशमूलक बनाएको छ। “दुई पुस्ताको सोच” नाटकमा कृष्ण (ससुरा) को भूमिकामा रामु सुनाम, पार्वती (सासू) को भूमिकामा पवित्रा विश्वकर्मा, हरि (छोरा) को भूमिकामा ओमप्रकाश गुप्ता तथा मिना (बुहारी) को भूमिकामा सिर्जना खड्का ले अभिनय गरेका छन्।

त्यसैगरी स्वास्थ्यकर्मीको भूमिकामा लक्ष्मी श्रेष्ठ, रिता (बहिनी) को भूमिकामा बन्दना पुन मगर, कमला (छिमेकी) को भूमिकामा सोनिया रोकामगर तथा छिमेकीको भूमिकामा दिलमाया घर्ती रहेका छन्। नाटक व्यवस्थापनको जिम्मेवारी सुर्यकिरण केसी र शिवराज भुसाल ले सम्हालेका थिए भने छायांकनतर्फ दिवस आचार्य र लोकमणी भुसालको महत्वपूर्ण भूमिका रहेको थियोे । आशाका किरण संस्था लामो समयदेखि महिला, बालबालिका, शिक्षा, स्वास्थ्य तथा सामाजिक रूपान्तरणका क्षेत्रमा सक्रिय रूपमा कार्यरत संस्था हो। राप्ती गाउँपालिका–१ भालुवाङमा कार्यालय खोलेर संस्थाले समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसपटक मातृ तथा बाल स्वास्थ्य पुस्तिका परियोजनामार्फत संस्थाले स्वास्थ्य क्षेत्रको महत्वपूर्ण विषयलाई प्राथमिकतामा राखेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे