लुम्बिनी प्रदेशमा बालशिशु मृत्युदर शून्यमा झार्नुपर्ने छ : स्वास्थ्य मन्त्री घिमिरे
भालुवाङ ६ साउन । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले बालशिशु मृत्युदरलाई शून्यमा झार्न सबै सरोकारवाला निकाय एकजुट भएर लाग्नुपर्ने बताएका छन्।
राप्ती गाउँपालिका-१ भालुवाङमा आयोजित मातृ तथा बाल स्वास्थ्य पुस्तिका परियोजनाको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न मातृ तथा शिशु मृत्युदरमा उल्लेख्य कमी ल्याउन आवश्यक रहेको बताए। जाइका नेपालको सहयोग तथा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले गर्भवती महिलादेखि नवजात शिशुसम्मको नियमित स्वास्थ्य परीक्षण, पोषण व्यवस्थापन, सुरक्षित प्रसूति सेवा तथा खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले मातृ तथा शिशु स्वास्थ्यका क्षेत्रमा भएका उपलब्धिहरूलाई संस्थागत गर्दै अझ राम्रो नतिजा हासिल गर्न स्थानीय तह, स्वास्थ्यकर्मी, विकास साझेदार तथा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए । कार्यक्रममा मातृ तथा बाल स्वास्थ्यसम्बन्धी जनचेतनामूलक नाटक “दुई पुस्ताको सोच” समेत प्रदर्शन गरिएको थियो।
राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले प्रस्तुत गरेको नाटकले गर्भवती महिला, सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्यमा परिवारको भूमिका, नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार, सुरक्षित प्रसूति सेवा तथा मातृ तथा बाल स्वास्थ्य पुस्तिकाको महत्वलाई प्रभावकारी रूपमा उजागर गरेको थियो। स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्यसचिव कृष्णप्रसाद काप्री, जाइका नेपालका प्रतिनिधि मिजुकी मात्सुजाकी, प्रोजेक्ट म्यानेजर गौरीप्रधान श्रेष्ठ लगायतले बोलेका थिए । स्वास्थ्य निर्देशक रोशनलाल चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य मन्त्रालयका बरिष्ठ अस्पताल नर्सिङ प्रशासक ईश्वरी केसीले गरेकी थिइन् ।
