जेब्रा क्रसिङमा पार्किङ गर्ने सरकारी सहित २ गाडी भालुवाङ ट्राफिकको कारबाहीमा



जेब्रा क्रसिङमा पार्किङ गर्ने सरकारी सहित २ गाडी भालुवाङ ट्राफिकको कारबाहीमा

भालुवाङ ७ साउन । दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोक बजार स्थित जेब्रा क्रसिङमै पार्किङ गरिएका एक सरकारी र एक सार्वजनिक सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

कारबाहीमा पर्ने सवारीमा प्युठानको नौबहिनी गाउँपालिकाको बि.ए.सि. २७०० नम्बरको सरकारी गाडी तथा घोराहीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ४९३६ नम्बरको सार्वजनिक इभी गाडी रहेका छन्। सरकारी गाडीले बिहीबार बिहान र सार्वजनिक इभी गाडीले बुधबार जेब्रा क्रसिङमै सवारी पार्किङ गरेका थिए। पैदल यात्रुको सुरक्षाका लागि छुट्याइएको स्थानमै सवारी पार्किङ गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अस्थायी ट्राफिक प्रहरी पोष्ट र इलाका प्रहरी कार्यालय भालुवाङले घटनाको अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाएका हुन्।

अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका कार्यालय प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक प्रेमप्रसाद पोख्रेलका अनुसार दुवै सवारीलाई प्रचलित ट्राफिक कानुनअनुसार ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना गरिएको छ। ट्राफिक प्रहरीले जेब्रा क्रसिङ पैदल यात्रुको सुरक्षित आवतजावतका लागि छुट्याइएको क्षेत्र भएकाले त्यहाँ कुनै पनि सवारी साधन पार्किङ नगर्न सबै चालकलाई आग्रह गरेको छ। साथै ट्राफिक नियम उल्लङ्घन गर्ने जो–कोहीलाई कानुन अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे