थारु संस्कृतिको पहिचानका लागि राप्ती र गढवाले ल्याए ढकियामा बजेट



थारु संस्कृतिको पहिचानका लागि राप्ती र गढवाले ल्याए ढकियामा बजेट

भालुवाङ १० असार । दाङकाे राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले थारु समुदायको मौलिक पहिचान झल्कने परम्परागत सामग्री ‘ढकिया’मा बजेट पुस्तिका राखेर आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट सार्वजनिक गरेका छन्। स्थानीय कला, संस्कृति र पहिचानलाई सम्मान गर्दै बजेट प्रस्तुत गरिएको दृश्यले सबैको ध्यान आकर्षित गरेको थियो।

बुधबार राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको ९ औं अधिवेशनमा उपाध्यक्ष कमलापति चाैधरीले उपाध्यक्ष कमलापति चौधरीले आगामी आर्थिक वर्षका लागि ७५ करोड ४ लाख ९६ हजार बराबरको बजेट प्रस्तुत गरिन्। गाउँपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ। बजेट प्रस्तुत गर्दै उपाध्यक्ष चौधरीले गुणस्तरीय शिक्षाको पहुँच विस्तार, स्वास्थ्य सेवाको सुदृढीकरण, ग्रामीण सडक तथा अन्य भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको बताइन्। स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्यका साथ बजेट निर्माण गरिएको उनको भनाइ छ।

त्यसैगरी गढवा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ८२ करोड ६४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँसभामा उपाध्यक्ष शान्ति चौधरीले बजेट प्रस्तुत गर्दै कृषि उत्पादन वृद्धि, स्वास्थ्य सेवा विस्तार, शिक्षा सुधार, पूर्वाधार विकास तथा रोजगार सिर्जनालाई केन्द्रमा राखेर बजेट तयार गरिएको जानकारी दिइन्। दुवै गाउँपालिकाले बजेट प्रस्तुत गर्ने क्रममा थारु समुदायको परम्परागत हस्तकलाका रूपमा परिचित ‘ढकिया’ प्रयोग गरेका थिए। यसले बजेट प्रस्तुतिलाई मात्र होइन, स्थानीय संस्कृति, भाषा, कला र पहिचान संरक्षणप्रतिको प्रतिबद्धतालाई समेत उजागर गरेको सहभागीहरूले बताएका छन्। स्थानीय तहहरूले पछिल्ला वर्षहरूमा विकास योजनासँगै सांस्कृतिक पहिचानलाई पनि जोड्ने प्रयास गरिरहेका बेला राप्ती र गढवा गाउँपालिकाको यो अभ्यासलाई सकारात्मक रूपमा हेरिएको छ।

थारु बाहुल्य क्षेत्रका यी दुई पालिकाले विकासका कार्यक्रमसँगै मौलिक संस्कृति संरक्षणलाई प्राथमिकतामा राख्दै बजेट सार्वजनिक गरेपछि स्थानीयवासीले समेत यसको स्वागत गरेका छन्। आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएका बजेटमार्फत शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगार तथा उद्यमशीलता क्षेत्रका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएमा स्थानीय जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे