दाङको भालुवाङबाट लागुऔषध सहित दुई जना पक्राउ
भालुवाङ १० असार । दाङको भालुवाङबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।
राप्ती गाउँपालिका–१ आँपखोलीमा लागुऔषध ब्राउन सुगर सेवन तथा बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङले छापा मार्दा दुई युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राप्ती गाउँपालिका-१ नयाँ बसपार्क निवासी २८ वर्षीय योगेश पौडेल र आँपखोली निवासी २१ वर्षीय राज विश्वकर्मा रहेका छन् ।प्रहरीले असार ९ गते दिउँसो करिब ३ बजेको समयमा राज विश्वकर्माको घरमा खानतलासी गरेको थियो। सो क्रममा योगेश र राजलाई शंकास्पद अवस्थामा फेला पारेको प्रहरीले बताएको छ।
प्रहरीले दुवै जनाको शरीर तलासी लिने क्रममा योगेशको साथबाट कालो प्लास्टिकमा लुकाई–छिपाई राखिएको शुद्ध तौल ६२० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरेको जनाएको छ। बरामद पदार्थलाई लागुऔषध ब्राउन सुगर भएको आशंकामा दुवै जनालाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा दाङ जिल्ला अदालतबाट म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान कार्य भइरहेको प्रहरीको बताएको छ।
