सिकलसेल एनिमिया जस्ता रोगबाट बच्न र बचाउन विवाह पूर्व स्वास्थ्य परिक्षण आवश्यक छ : पाैडेल



सिकलसेल एनिमिया जस्ता रोगबाट बच्न र बचाउन विवाह पूर्व स्वास्थ्य परिक्षण आवश्यक छ : पाैडेल

भालुवाङ २८ जेठ । स्वास्थ्य कार्यालय दाङका सिकलसेल कार्यक्रम फोकल पर्सन उज्ज्वल कुमार पा‌ैडेलले सिकलसेल एनिमिया र थालेसेमिया जस्ता रोगहरू नियन्त्रणका लागि विवाहपूर्व स्वास्थ्य परीक्षण अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् ।

राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बिहीबार गाउँपालिकाको सभाहल मसुरियामा आयोजित सिकलसेल एनिमिया, थालेसेमिया लगायत रक्तजन्य रोग सम्बन्धी अभिमुखीकरणलाई सहजीकरण गर्दै फोकल पर्सन पाैडेलले
सिकलसेल र थालेसेमिया वंशाणुगत रोग भएकाले रोगको पहिचान र रोकथामका लागि परिवार तथा समुदाय स्तरबाट नै सचेतना आवश्यक रहेको उल्लेख गरे । “यदि विवाह गर्न लागेका दुवै व्यक्तिमा सिकलसेल वा थालेसेमियाको वाहक अवस्था रहेको छ भने जन्मिने सन्तानमा गम्भीर स्वास्थ्य समस्या देखिन सक्ने सम्भावना उच्च हुन्छ,” उनले भने, “त्यसैले विवाहअघि नै रक्त परीक्षण गरी आफ्नो स्वास्थ्य अवस्था थाहा पाउनु नै भविष्यका सन्तानलाई यस्ता रोगबाट बचाउने सबैभन्दा प्रभावकारी उपाय हो।”

पौडेलले नेपालका विभिन्न जिल्लामा सिकलसेल रोगको प्रभाव देखिँदै गएको उल्लेख गर्दै यसको पहिचान, परीक्षण र उपचारबारे पर्याप्त जानकारी नहुँदा धेरै नागरिकले अनाहकमा दुःख पाइरहेको बताए । उनका अनुसार सिकलसेल रोगले शरीरमा अक्सिजन प्रवाह गर्ने रातो रक्तकोषिकालाई प्रभावित बनाउने भएकाले बिरामीमा बारम्बार स्वास्थ्य समस्या, शारीरिक कमजोरी तथा अन्य जटिलता देखिन सक्छ। उनले रक्तजन्य रोगको प्रभाव कम गर्न स्थानीय तह, स्वास्थ्य संस्था, विद्यालय तथा समुदायले संयुक्त रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।

विशेष गरी किशोर–किशोरी र युवालाई लक्षित गरी स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्न सके विवाहपूर्व परीक्षणको संस्कार विकास गर्न सहज हुने उनको भनाइ थियो। पौडेलले सिकल सेल एनिमिया र थालेसेमिया रोगको पहिचान, लक्षण, परीक्षण, उपचार तथा रोकथामका उपायबारे प्रस्तुतीकरण गरेका थिए । उनले यस्ता वंशाणुगत रोगको समयमै परीक्षण र परामर्शले रोग व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सिकलसेल एनिमिया र थालेसेमिया जस्ता वंशाणुगत रोगलाई सामान्य रूपमा लिन नहुने बताउँदै समयमै परीक्षण र उपचारको व्यवस्था गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । उनले यस्ता रोगको प्रभाव न्यूनीकरणका लागि आगामी आर्थिक वर्षको बजेट मार्फत आवश्यक कार्यक्रमहरू समावेश गरिने जानकारी दिए । “रोगको पहिचान नै उपचारको पहिलो चरण हो,” अध्यक्ष विष्टले भने, “गाउँपालिकाले आगामी बजेटमार्फत सिकलसेल र थालेसेमियाको परीक्षणका लागि आवश्यक उपकरण खरिद गर्ने तथा प्रभावित नागरिकलाई सहुलियत दरमा उपचार सेवा उपलब्ध गराउने व्यवस्था मिलाउने योजना बनाएको छ।”

अध्यक्ष विष्टले स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्नु स्थानीय सरकारको प्राथमिक दायित्व भएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूलाई थप प्रभावकारी बनाउँदै आधुनिक स्वास्थ्य सेवाको पहुँच गाउँघरमै पुर्‍याउने लक्ष्य रहेको बताए । कार्यक्रममा सहभागीहरूले सिकलसेल एनिमिया, थालेसेमिया तथा अन्य रक्तजन्य रोगको प्रकृति, लक्षण, जोखिम, रोकथाम तथा उपचारका उपायबारे जानकारी प्राप्त गरेका थिए।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नारायण राउतले सिकल सेल एनिमिया, थालेसेमिया लगायत रक्तजन्य रोगको वर्तमान अवस्था, चुनौती तथा नियन्त्रणका लागि समुदायस्तरमा आवश्यक सचेतनाबारे जानकारी गराए । उनका अनुसार गाउँपालिकाले गत माघ महिनामा सञ्चालन गरेको स्वास्थ्य शिविरमा ४ सय ६७ जनाको स्वास्थ्य परीक्षण गरेको थियो। परीक्षणका क्रममा केही व्यक्तिमा सिकल सेल तथा थालेसेमिया सम्बन्धी समस्या देखिएकाे बताए। राउतले सरकारले यस्ता रोगबाट प्रभावित बिरामीका परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था रहेको समेत जानकारी दिए । उनले अभिमुखीकरण कार्यक्रमले गाउँघरमा लुकेर रहेका बिरामीको पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

साथै विद्यालय र समुदायस्तरमा निरन्तर जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको समेत उनले बताए । कार्यक्रमको सञ्चालन स्वास्थ्य निरीक्षक पोषणराज शर्माले गरेका थिए । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी, विभिन्न वडाका वडा अध्यक्ष, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, उद्योगी–व्यवसायीका प्रतिनिधि, युवा क्लबका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका तथा बिरामीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे