भारतमा दिनभर रविको उच्चस्तरीय भेटघाट, तर उठेन सीमाका कुरा



भारतमा दिनभर रविको उच्चस्तरीय भेटघाट, तर उठेन सीमाका कुरा

काठमाडौँ १९ जेठ । छिमेकी मुलुक भारतको भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटघाटलाई तीव्र पारेका छन् । तर, दिनभर भएका कुनै पनि उच्चस्तरीय भेटघाटमा नेपाल–भारतबिचको संवेदनशील सीमा विवादको विषयले प्रवेश पाउन सकेन ।

नेपाल र भारतबिच सीमा परिमार्जन तथा सुगौली सन्धिकालीन नक्साका विषयमा बहस भइरहेका बेला सत्तारूढ दलका प्रमुख नेताको भारत भ्रमण र त्यस क्रममा सीमाको मुद्दा नउठ्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय गृहमन्त्री अमित शाहसँग विशेष भेटवार्ता गरेका छन् । भारतीय राजनीतिमा शक्तिशाली मानिने गृहमन्त्री शाहले विगत सात वर्षको कार्यकालमा विरलै मात्र कुनै विदेशी दलका अध्यक्ष वा नेतासँग यसरी द्विपक्षीय भेटघाट गर्ने गरेका छन् । त्यसैले, लामिछाने र शाहबिचको यो भेटलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ । नयाँ दिल्ली स्थित नेपाली दूतावासका अनुसार उक्त भेटघाटमा दुई देशबिचको सीमापार सम्पर्क (क्रस–बर्डर कनेक्टिभिटी) लाई थप सुदृढ बनाउने, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने तथा विपत् व्यवस्थापनका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

दुवै नेताले नेपाल–भारतको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउँदै सुरक्षा र पूर्वाधारका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए पनि सीमा विवादबारे भने कुनै कुराकानी नभएको स्रोतको दाबी छ । यसैगरी, सभापति लामिछाने र भारतीय विदेशमन्त्री एस। जयशंकरबिच पनि आजै भेटघाट भएको छ । विदेश मन्त्रालयमा भएको उक्त भेटमा भारतीय विदेश सचिव विक्रम मिस्रीको समेत उपस्थिति थियो । भेटपछि विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत नेपाल–भारत विकास साझेदारी र जनस्तरको सम्बन्धबारे कुराकानी भएको जानकारी दिएका छन् । तर, उनले पनि सीमा विवादबारे कुनै कुरा उल्लेख गरेका छैनन् ।सभापति लामिछानेले आजै भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीनसँग पनि भेटवार्ता गरे । भेटमा दुई देशका राजनीतिक दलहरूबिचको सम्बन्ध र सङ्गठन विस्तारका विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो ।

भाजपा नेता नवीनले भारत र नेपालबिचको साझा सभ्यता, संस्कृति र सुदृढ जनस्तरमा आधारित ऐतिहासिक एवं घनिष्ठ सम्बन्धको चर्चा गरेका थिए । रास्वपा र भाजपाबिचको दलीय सम्बन्धलाई थप प्रगाढ बनाउन यस्ता भ्रमणले मद्दत पुग्ने धारणा उनले राखे । उनले भाजपाको केन्द्रीय तहदेखि बुथ तहसम्मको सङ्गठनात्मक ढाँचा, पार्टीको यात्रा, विचारधारा र राजनीतिक संलग्नताबारे लामिछानेलाई जानकारी गराएका थिए ।  जवाफमा रास्वपा सभापति लामिछानेले भाजपाको डिजिटल सदस्यता प्रक्रिया, उम्मेदवार छनोट प्रणाली र तल्लो तहका कार्यकर्ता पहिचान गरी उनीहरूसँग जोडिने पार्टीको संयन्त्रबारे चासो राखेका थिए । सभापति लामिछाने भेटघाटमा व्यस्त रहेकै समयमा भारतीय विदेश मन्त्रालयले भने सीमा विवादबारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे