दाङमा भएको छुट्टाछुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु
भालुवाङ १८ जेठ । दाङमा भएको छुट्टाछुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–५ गुल्मचोकमा सोमबार टिप्पर र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका बाबुछोराको मृत्यु भएको छ ।
दुर्घटनामा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मिनराज नेपाली गम्भीर घाइते भएका थिए । दुवैलाई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । घटनामा मनोजकी श्रीमती ३४ वर्षीया अनुषा नेपाली सामान्य घाइते भएकी छन् । तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई बाटो क्रस गर्दै गरेको रा १ ख २१९२ नम्बरको टिप्परले ठक्कर दिएको थियो । टिप्पर र चालक शान्तिनगर गाउँपालिका–३ निवासी ३९ वर्षीय शेरबहादुर थापा प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
यसै बीच लमहीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको गेरुवा गाउँपालिका ४ निवासी अन्दाजी ३५ वर्षीय खिमराज तिमल्सिना रहेका छन । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार अमिलियाबाट लमहीतर्फ आउँदै गरेको लु २ च ९६१७ नम्बरको पिकअप भ्यानले काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको बा ६५ प १८८४ नम्बरको मोटरसाइकललाई लमही नगरपालिका ७ पदमिनी खोला नजिक ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका तिमल्सिनाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न पिकअप भ्यान र चालकलाई इलाका प्रहरी कार्यालय अमिलियाले नियन्त्रणमा लिएको छ । मृतक तिमल्सिनाको शव लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
