चन्द्रज्योतिमा विद्यार्थी नेतृत्व चयन, स्काउट दल गठन र शैक्षिक क्यालेण्डर बिमाेचन
भालुवाङ १३ वैशाख । दाङको राप्ती गाउँपालिका–२ लालमटिया स्थित चन्द्रज्योति बोर्डिङ स्कुलमा विद्यार्थी नेतृत्व विकास, अनुशासन र सह–पाठ्यक्रम गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले क्याप्टेन तथा भ्वाइस क्याप्टेन चयन, स्काउट दल गठन र शैक्षिक क्यालेण्डर बिमोचन कार्यक्रम बुधवार सम्पन्न भएको छ ।
विद्यालयकी प्रधानाध्यापक रमा पाण्डेको अध्यक्षता तथा विद्यालयका प्रबन्ध निर्देशक गिरिराज पौडेलको प्रमुख आतिथ्यता र स्काउट आयुक्त छविलाल कडेलकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम भएकाे हाे । कार्यक्रममा विद्यार्थीहरूलाई नेतृत्व क्षमता विकास, अनुशासन, जिम्मेवारीबोध तथा सामाजिक सेवामुखी कार्यमा सक्रिय बनाउन विद्यालयले यस्ता गतिविधिलाई प्राथमिकतामा राखेको बताइएको छ । कार्यक्रम अन्तर्गत विद्यालयको विद्यार्थी नेतृत्व चयन प्रक्रियाबाट समिर आचार्य विद्यालय क्याप्टेन र मनिषा चौधरी भ्वाइस क्याप्टेनमा सर्वसम्मत रूपमा चयन भएका छन् । नव–निर्वाचित विद्यार्थी नेतृत्वलाई कार्यक्रमका प्रमुख अतिथिले प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरिराज पौडेलले विद्यार्थी नेतृत्वले विद्यालयको अनुशासन, व्यवस्थापन र सकारात्मक वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले विद्यार्थीहरूलाई अध्ययनसँगै नेतृत्व र सामाजिक उत्तरदायित्वमा समेत सक्रिय हुन आग्रह गर्दै विद्यालयले व्यवहारिक शिक्षा र अतिरिक्त क्रियाकलापलाई जोड दिएको उल्लेख गरे ।
विशिष्ट अतिथि तथा स्काउट आयुक्त छविलाल कडेलले स्काउट अभियानले विद्यार्थीमा आत्मअनुशासन, सेवा भावना, सहकार्य र राष्ट्रप्रतिको जिम्मेवारी विकास गर्ने बताए । उनले स्काउटमार्फत विद्यार्थीलाई व्यवहारिक, नैतिक तथा सामाजिक शिक्षामा अभ्यस्त बनाउन सकिने धारणा राखे । त्यस्तै कार्यक्रममा १ रिक्त सहित ७ सदस्यीय स्काउट दल समेत गठन गरिएको छ । नवगठित दलको टुप लिडरमा स्वस्तिका चौधरी चयन भएकी छन् भने सदस्य सचिवको जिम्मेवारी स्काउटर निता आचार्यलाई दिइएको विद्यालयले जनाएको छ । भने अन्य सदस्यमा रहेका छन् । यसैबीच विद्यालयले शैक्षिक सत्र २०८३ का लागि तयार गरिएको शैक्षिक क्यालेण्डर समेत बिमाेचन गरेको छ । बिमोचित क्यालेण्डरमा शैक्षिक गतिविधि, परीक्षा तालिका, अतिरिक्त क्रियाकलाप, विभिन्न दिवस तथा विद्यालयका वार्षिक कार्यक्रमहरू समेटिएको जनाइएको छ । विद्यालय प्रशासनका अनुसार क्यालेण्डरले विद्यार्थी, अभिभावक र शिक्षकलाई शैक्षिक योजना व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक शरदराज शर्माले गरेका थिए ।
