भालुवाङमा इच्छुक स्मृति दिवस मनाइयो, इच्छुकले देखेका सपना सवैले पुरा गरौं : वरिष्ठ कवि रउफ
भालुवाङ १३ जेठ । दाङको राप्ती गाउँपालिका-१ भालुवाङमा महान् सहिद कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस कार्यक्रम मनाइएको छ ।
राप्ती प्रेस मञ्चको आयोजना तथा कृष्णसेन इच्छुक स्मृति पार्क निर्माण समितिको सहआयोजनामा बुधबार राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोक स्थित इच्छुकको शालिकमा माल्यार्पण गरी स्मृति दिवस मनाइएको हो । मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षता एवम् वरिष्ठ कवि अहमद अब्दुल रउफको प्रमुख आतिथ्यतामा र नागरिक समाज दाङका संयोजक निमबहादुर थापाको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै वरिष्ठ कवि रउफले इच्छुकले समाज परिवर्तनका लागि साहित्यलाई संघर्षको माध्यम बनाएको उल्लेख गर्दै उहाँका विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । “इच्छुकले देखाएको बाटो केवल पत्रकारिताको बाटो होइन, त्यो सामाजिक न्याय, समानता र परिवर्तनको बाटो हो,” उनले भने, “आजको पुस्ताले उनका विचारलाई व्यवहारमा उतार्न सके मात्रै उहाँप्रति सच्चा सम्मान हुनेछ ।”
नागरिक समाज दाङका संयोजक निमबहादुर थापाले सहिदहरूको योगदानलाई राज्यले उचित सम्मान गर्न नसकेको गुनासो गरे । उनले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा रहेको इच्छुकको शालिक तथा पुख्र्यौली घरलाई व्यवस्थित सहिद पार्कका रूपमा विकास गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखे । कार्यक्रमका अन्य वक्ताहरूहरूले पत्रकारिता, साहित्य र प्रगतिशील सांस्कृतिक आन्दोलन मार्फत नेपाली समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएका इच्छुकप्रति श्रद्धाञ्जली अर्पण गर्दै वक्ताहरूले उहाँले देखाएको परिवर्तनको सपना पूरा गर्नु आजको पुस्ताको दायित्व भएको बताए । वक्ताहरूले कृष्णसेन इच्छुक केवल साहित्यकार वा पत्रकार मात्र नभई नेपाली क्रान्तिका एक साहसी र प्रतिबद्ध योद्धा भएको उल्लेख गरे । उनीहरूले आफ्नो लेखनी, विचार र सांस्कृतिक अभियानमार्फत उत्पीडित वर्गको आवाज बुलन्द बनाएको स्मरण गर्दै वक्ताहरूले वर्तमान पुस्ताले पनि अन्याय, विभेद र विकृतिका विरुद्ध कलम चलाउन डराउन नहुने धारणा राखे ।
वक्ताहरूले पछिल्लो समय ‘जेन्जी आन्दोलन’ को नाममा सार्वजनिक सम्पत्तिमाथि भइरहेको तोडफोडप्रति पनि गम्भीर चिन्ता व्यक्त गरे । विशेषगरी सहिदहरूको शालिकमाथि भएको तोडफोडप्रति आक्रोश व्यक्त गर्दै दोषीहरूलाई तत्काल पक्राउ गरी कानुनी कारवाही गर्न सरकारसँग माग गरिएको थियो । वक्ताहरूले इतिहास मेटाउने प्रयास कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका थिए । वक्ताहरूले लोकतन्त्र, प्रेस स्वतन्त्रता र सामाजिक न्यायका पक्षमा आवाज उठाउने व्यक्तिहरूलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिए । पत्रकारिता क्षेत्रमा बढ्दो चुनौतीका बीच सत्य र न्यायको पक्षमा उभिन पत्रकारहरू अझ जिम्मेवार हुनुपर्ने धारणा उनीहरूको थियो । कार्यक्रममा सहभागीहरूले इच्छुकको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
सो अवसरमा नागरिक समाज देउखुरीका पूर्व संयोजक दामोदर भण्डारी, राप्ती उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जगतप्रसाद पोख्रेल, समाजसेवी तथा बुद्धिजीवी लालमणि शर्मा, शिक्षक तथा साहित्यकार जिवराज शर्मा, गोरखा आइडियल स्कुल का प्रधानाध्यापक बसन्त बहादुर पुन तथा मञ्चका प्रमुख संरक्षक महेश रिजाल लगायतले मन्तव्य व्यक्त गगरेका थिए । मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ता को स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए । कार्यक्रममा इच्छुकका समकालीन साथीहरू, साहित्यकार, पत्रकार, उद्योगी व्यवसायी तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
