खाद्य स्वच्छता र गुणस्तरमा ध्यान दिन व्यवसायीहरुलाई खाद्य निरीक्षण अधिकारी गोसाईंको सुझाव



खाद्य स्वच्छता र गुणस्तरमा ध्यान दिन व्यवसायीहरुलाई खाद्य निरीक्षण अधिकारी गोसाईंको सुझाव

भालुवाङ ८ जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर दाङका खाद्य निरीक्षण अधिकारी सुदर्शन गोसाईंले खाद्य व्यवसाय सञ्चालन गर्दा कानुनी मापदण्डको पूर्ण पालना गर्न उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गरेका छन् । उपभोक्ताको स्वास्थ्य सुरक्षालाई केन्द्रमा राख्दै गुणस्तरीय खाद्य सामग्री उत्पादन तथा बिक्री वितरण गर्नु आजको मुख्य आवश्यकता भएको उनले बताएका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर दाङको आयोजना तथा राप्ती गाउँपालिकाको समन्वयमा शुक्रबार राप्ती गाउँपालिका कार्यालय मसुरियामा सम्पन्न “खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम” मा सहजीकरण गर्दै निरीक्षण अधिकारी गोसाईंले पछिल्लो समय बजारमा गुणस्तरहीन तथा मापदण्ड विपरीत खाद्य सामग्रीको प्रयोग बढ्दै गएकाले सबै व्यवसायी सचेत बन्नुपर्ने आवश्यकता औँल्याए । उनले खाद्य पदार्थ उत्पादन, भण्डारण, ढुवानी तथा बिक्री वितरणका प्रत्येक चरणमा स्वच्छता कायम गर्नुपर्नेमा जोड दिँदै व्यवसायीहरूले खाद्य ऐन तथा सरकारी मापदण्ड अनुसार मात्रै व्यापार सञ्चालन गर्नुपर्ने बताए ।

“खाद्य व्यवसाय केवल नाफासँग मात्र जोडिएको विषय होइन, यो प्रत्यक्ष रूपमा नागरिकको स्वास्थ्यसँग सम्बन्धित छ,” उनले भने, “एक जना व्यवसायीको सानो लापरबाहीले धेरै मानिसको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ, त्यसैले खाद्य सुरक्षामा कुनै सम्झौता गर्नु हुँदैन ।” गोसाईंले कार्यक्रममा खाद्य स्वच्छता, गुणस्तर, लेबलिङ, प्याकेजिङ तथा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ का विभिन्न प्रावधानबारे विस्तृत जानकारी दिएका थिए । उनले बजारमा बिक्री गरिने खाद्य सामग्रीमा उत्पादन मिति, उपभोग मिति, उत्पादक कम्पनी, सामग्रीको विवरण तथा मूल्य स्पष्ट उल्लेख हुनुपर्ने बताए । उपभोक्ताले खरिद गर्ने खाद्य वस्तुको गुणस्तर पहिचान गर्न सक्ने वातावरण निर्माण गर्नु व्यवसायीको दायित्व भएको उनको भनाइ थियो ।

उनले खाद्य सामग्री उत्पादन गर्ने उद्योग तथा होटल, रेष्टुरेन्ट, किराना पसल लगायतका व्यवसायहरूमा सरसफाइलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै गुणस्तरहीन तेल, म्याद नाघेका सामग्री, खुला खाद्य पदार्थ तथा अस्वस्थकर वातावरणमा बनाइएका परिकारले विभिन्न रोग निम्त्याउने चेतावनी दिए । उनले उपभोक्ताको विश्वास जित्न व्यवसायीहरू पारदर्शी र जिम्मेवार बन्नुपर्ने धारणा राखे । कार्यक्रममा सहभागी उद्योगी, व्यापारी, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरूले पनि खाद्य गुणस्तर सुधार, बजार अनुगमनको प्रभावकारिता तथा उपभोक्ता सचेतनाका विषयमा आफ्ना धारणा राखेका थिए । सहभागीहरूले ग्रामीण क्षेत्रसम्म नियमित बजार अनुगमन आवश्यक रहेको, खाद्य सामग्रीको गुणस्तर परीक्षणलाई प्रभावकारी बनाउनुपर्ने तथा उपभोक्तालाई सचेत गराउने अभियानलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले स्वस्थ नागरिक निर्माणका लागि खाद्य स्वच्छता अत्यन्त महत्वपूर्ण विषय भएको बताए ।

उनले स्थानीय तहले बजार व्यवस्थापन, अनुगमन तथा जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको बताए । “खाद्य सुरक्षा नागरिकको आधारभूत अधिकारसँग जोडिएको विषय हो,” अध्यक्ष बिष्टले भने, “स्थानीय सरकारका रूपमा हामी उपभोक्ताको स्वास्थ्य सुरक्षामा संवेदनशील छौँ ।” राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले व्यवसायीहरूलाई नियमअनुसार व्यापार सञ्चालन गर्न आग्रह गर्दै गुणस्तरीय खाद्य वस्तु बिक्री वितरण गर्नुपर्ने बताए । उनले स्थानीय बजारलाई व्यवस्थित, स्वच्छ र उपभोक्तामैत्री बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे । कार्यक्रममा राप्ती चेम्बर अफ कमर्सका अध्यक्ष बसन्त बहादुर कुँवर क्षेत्री, भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष सुमन्त भुसाल, राप्ती उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्रप्रकाश आचार्य, सिसहनियाँ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मदन पोख्रेल लगायतका वक्ताहरूले आ-आफ्नो भनाई राखेका थिए । कार्यक्रममा उद्योगी, व्यापारी, स्वास्थ्य शाखाका कर्मचारी तथा सञ्चारकर्मी गरी ५६ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे