गोबरडिहा सः मिल तथा फर्निचर उद्योग सञ्चालन तथा प्रवद्र्धनका विषयमा अन्तरक्रिया
देउखुरी ७ जेठ । गोबरडिहा सःमिल तथा फर्निचर उद्योग सञ्चालन तथा प्रवर्धनका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम बिहिवार गढवा गाउँपालिका–१ बडहरामा सम्पन्न भएको छ ।
कुलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नवराज शर्माको अध्यक्षता, लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईको प्रमुख आतिथ्यता र सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले सामुदायिक वनबाट उत्पादित गोलिया काठको सदुपयोग गर्दै झ्याल, ढोका तथा अन्य फर्निचर सामग्री निर्माणका लागि स्थानीय स्तरमै काठ चिरान प्रक्रिया सहज बनाउने तर्फ प्रदेश सरकार सकारात्मक रहेको बताए । उनले सामुदायिक वन उपभोक्तालाई झन्झटमुक्त सेवा उपलब्ध गराउन प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने उल्लेख गरे । “वनबाट उत्पादित काठलाई स्थानीय स्तरमै प्रशोधन गरी प्रयोग गर्न सकियो भने आर्थिक गतिविधि बढ्नुका साथै रोजगारी सिर्जनामा पनि ठूलो योगदान पुग्छ,” उनले भने, “प्रदेश सरकारले समुदायलाई सहज हुने गरी नीतिगत तथा प्रशासनिक सहजीकरण गर्दै जानेछ ।” सचिव भट्टराईले गत वर्ष प्रदेश सरकारले सार्वजनिक भवन निर्माणमा काठ प्रयोगलाई प्राथमिकता दिने नीति ल्याएको स्मरण गराउँदै स्थानीय उत्पादनको प्रयोगले वनजन्य उद्योगको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार वन संरक्षण र आर्थिक विकासलाई सन्तुलित रूपमा अगाडि बढाउन सकिए मात्रै सामुदायिक वन अभियानको वास्तविक उद्देश्य पूरा हुनेछ ।
कार्यक्रमका विशिष्ट अतिथि तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनहरुले पछिल्लो समय संरक्षणसँगै उद्यमशीलता, पर्यापर्यटन तथा कृषि वनका कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले ती गतिविधिलाई प्रत्यक्ष रूपमा जनताको आयआर्जन र समृद्धिसँग जोड्न सक्नुपर्ने आवश्यकता औंल्याए । “सामुदायिक वन केवल संरक्षणको विषय मात्रै होइन, यो स्थानीय विकास र आर्थिक समृद्धिको आधार पनि हो,” भण्डारीले भने, “वनसँग जोडिएका उद्योग, कृषि वन, जडीबुटी तथा पर्यापर्यटनलाई व्यवस्थित गर्न सकियो भने गाउँमै रोजगारी सिर्जना गर्न सकिन्छ ।” उनले स्थानीय तह, प्रदेश सरकार तथा समुदायबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै वन स्रोतको वैज्ञानिक व्यवस्थापनबाट आर्थिक लाभ लिन सकिने बताए ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि सःमिल तथा फर्निचर उद्योगको दिगो सञ्चालनका लागि स्पष्ट नीति, सहज अनुमति प्रक्रिया, प्राविधिक सहयोग तथा बजार व्यवस्थापन आवश्यक रहेको धारणा राखेका थिए । उनीहरुले वनजन्य स्रोतको सही उपयोग हुन नसक्दा स्थानीय स्तरमा सम्भावना भएर पनि उद्योग विस्तार हुन नसकेको बताएका थिए ।
वक्ताहरुले विशेषगरी ग्रामीण क्षेत्रमा फर्निचर उद्योग स्थापना र सञ्चालन भए स्थानीय युवालाई रोजगारी मिल्ने, बाहिरी बजारमा निर्भरता घट्ने तथा स्थानीय उत्पादनको मूल्य अभिवृद्धि हुने धारणा व्यक्त गरे । वनजन्य उत्पादनलाई कच्चा पदार्थका रूपमा मात्रै बिक्री नगरी प्रशोधन गरेर बजारमा लैजान सके आर्थिक लाभ धेरै हुने उनीहरुको भनाइ थियो । कार्यक्रममा कृषि सहज कार्यक्रमका राष्ट्रिय संयोजक रचना शाह, सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसाल, सुधा खड्का, डिभिजन वन कार्यालय लमहीका सहायक वन अधिकृत दीपक चौधरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, देउखुरी टुडेका प्रतिनिधि मोतीराम भट्टराई लगायतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन तिर्थराज ज्ञवालीले गरेका थिए ।
