लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन शुरु, बजेट प्राथमिकता र सुकुम्वासी मुद्दामा चर्को बहस



लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन शुरु, बजेट प्राथमिकता र सुकुम्वासी मुद्दामा चर्को बहस

देउखुरी १७ बैशाख । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन बिहीबारदेखि सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । बैठककाे बिशेष समयमा बाेल्दै प्रदेश सभा सदस्यहरूले समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन् । शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्न सुझाव दिइएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले नयाँ भनिएका शक्तिहरूले मुलुक निर्माण गर्न नसक्ने दाबी गर्दै पुराना राजनीतिक दलहरूले नै देश निर्माणको हैसियत राख्ने बताए । नेपाली कांग्रेसका प्रमुख सचेतक जमुना ढकालले नयाँ अधिवेशनले प्रदेश विकासलाई गति दिने विश्वास व्यक्त गरिन् । उनले प्रभावकारी नीति निर्माणमार्फत विकासका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै विगतका कमजोरी सच्याउनुपर्ने धारणा राखिन् ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक इन्द्रजीत थारुले सुकुम्वासीहरूको मौलिक हक संघीय सरकारले खोसिरहेको आरोप लगाउँदै विरोध जनाए । उनले आवासविहीन सबै नागरिकलाई आवासको अधिकार सुनिश्चित गर्नुपर्ने बताउँदै उनले बिना तयारी डोजर चलाइएको भन्दै भूमि प्रयोगबारे गम्भीर अध्ययन गर्न संघीय सरकारलाई आग्रह गरे । प्रमुख सचेतक थारुले भूमि व्यवस्थापन ऐन प्रदेशमा छिटो ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै भूमिसम्बन्धी समस्या समाधानमा प्रदेश सरकारले सक्रिय भूमिका खेल्नुपर्ने बताए ।

यस्तै प्रदेश सभा सदस्य भण्डारीलाल अहिरले इमान्दारी र समावेशितामा आधारित बजेट निर्माण गर्नुपर्नेमा जोड दिए । प्रदेश सभा सदस्य हेमा वेल्वासेले विगतका गल्ती नदोहो¥याई कार्यान्वयनयोग्य बजेट ल्याउनुपर्ने बताउँदै युवालाई लक्षित डिजिटल अर्थतन्त्रका कार्यक्रम समेट्न सुझाव दिए ।

यता प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ताले लुम्बिनी विकास कोषमा थन्किएका बसहरू सञ्चालनमा ल्याउन माग राख्दै पर्यटकलाई सहज सेवा उपलब्ध गराउन ध्यान दिनुपर्ने बताए । साथै उनले किसानका समस्या समाधान गर्ने गरी बजेट आउनुपर्नेमा जोड दिए । यस्तै प्रदेश सभा सदस्य मिनाकुमारी श्रेष्ठले बजेट निर्माण गर्दा वास्तविक आवश्यकता र प्राथमिकतालाई ध्यानमा राख्नुपर्ने बताउँदै पारदर्शी र परिणाममुखी बजेट ल्याउनुपर्नेमा जोड दिइन् । आगामी बैठकको मिति सुचना मार्फत जानकारी गराइने सभामुख तुलाराम घर्तीमगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे