विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेकाे निर्णय
काठमाण्डाै ४ जेठ । नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरकाे गुण्डुमा आज बसेको सचिवालय बैठकले भण्डारीलाई पुनः पार्टी सदस्यता दिने औपचारिक निर्णय गरेको हो ।
पूर्वराष्ट्रपति भण्डारीको भावी भूमिका र पार्टी नेतृत्वमा आउन सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उपमहासचिव लेखराज भट्टले अहिले उनलाई सदस्यता दिने निर्णय भएको र नेतृत्वको विषय भविष्यको कुरा भएको बताए। भण्डारी कुन जिम्मेवारीमा रहने भन्ने निर्णय पार्टीले आवश्यकताका आधारमा गर्ने उनको भनाइ छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपमहासचिव भट्टले बैठकमा अध्यक्ष ओलीले पछिल्लो चुनावकाे परिणाम र वर्तमान राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षात्मक सम्बोधन गर्नुभएको जानकारी दिए ।
बैठकमा महासचिव भट्टले ११ वटा कार्यसूची प्रस्तुत गरेका थिए । कार्यसूचीमा पदाधिकारीहरूको वरीयताक्रम निर्धारण, वर्तमान सरकारको कामकारबाहीको समीक्षा, पार्टी सदस्यता नवीकरण तथा विस्तार र पदाधिकारी एवम् सदस्यहरूको कार्यविभाजन रहेका छन् । एमालेले वर्तमान सरकार स्वेच्छाचारी ढङ्गले अगाडि बढिरहेको निष्कर्ष निकाल्दै यसबारे छलफल गरेको छ । यस्तै संविधान संशोधन सुझाव कार्यदल गठन, चुनावी समीक्षा प्रतिवेदन तयारी कार्यदल गठन, पार्टी केन्द्रीय कार्यालय भवन निर्माण, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक समिति गठन र सङ्गठन विभागको विस्तारजस्ता प्राविधिक तथा साङ्गठनिक विषयहरूमा पनि बैठकमा छलफल भएको उपमहासचिव भट्टले जानकारी दिए । एमाले सचिवालयको अर्को बैठक आउँदाे शुक्रवार जेठ ८ गते बिहान साढे ११ बजे गुण्डुमै बस्ने तय भएको छ ।
