राप्तीमा सिलिन्डर ग्यासको मनलाग्दी मूल्य : उपभोक्ताको गुनासो, २१ सय रुपैयाँ सम्ममा बिक्री



राप्तीमा सिलिन्डर ग्यासको मनलाग्दी मूल्य : उपभोक्ताको गुनासो, २१ सय रुपैयाँ सम्ममा बिक्री

भालुवाङ ३१ साउन । दाङको राप्ती गाउँपालिकामा खाना पकाउने एलपी ग्यास सिलिन्डरमा बिक्रेताहरूले मनलाग्दी मूल्य असुल्ने गरेको उपभोक्ताहरूले गुनासो गरेका छन्। सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री भइरहेको भन्दै उपभोक्ताहरूले तत्काल अनुगमन गरी कालोबजारी नियन्त्रण गर्न माग गरेका छन्।

उपभोक्ताहरूका अनुसार राप्ती क्षेत्रका विभिन्न ग्यास बिक्रेताले एउटै सिलिन्डरको फरक–फरक मूल्य लिने गरेका छन्। कतिपय बिक्रेताले पसलबाटै प्रतिसिलिन्डर २ हजार १ सय रुपैयाँ, कसैले २ हजार ८० रुपैयाँ र कसैले २ हजार ६० रुपैयाँ सम्म लिने गरेको उनीहरूको भनाइ छ। ग्यासमा कालोबजारी भइरहेको सूचना प्रहरी समक्ष पुगेपछि भदौ १ गते राप्ती गाउँपालिकाका सबै ग्यास बिक्रेतालाई इलाका प्रहरी कार्यालय भालुवाङमा बोलाइएको कार्यालय प्रमुख प्रहरी निरीक्षक गोपाल न्यौपानेले जानकारी दिएका छन्। ग्यास अभावको मौका छोपेर बिक्रेताहरूले उपभोक्ताबाट बढी रकम असुलिरहेको उपभोक्ताहरूको आरोप छ। प्रहरीकै अगाडि समेत २ हजार १ सय रुपैयाँमा ग्यास बिक्री भइरहेको भन्दै केही उपभोक्ताले नियमनकारी निकायको भूमिका माथि समेत प्रश्न उठाएका छन्।

ग्यासको मूल्यमा मनलाग्दी असुली र सम्भावित कालोबजारी रोक्न जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकार र प्रहरीले संयुक्त रूपमा प्रभावकारी अनुगमन गर्नुपर्ने उपभोक्ताहरूको माग छ। उनीहरूले ग्यासको वास्तविक मूल्य सार्वजनिक गर्न तथा बढी रकम असुल्ने बिक्रेतामाथि कारबाही गर्नसमेत आग्रह गरेका छन्। राप्ती गाउँपालिका क्षेत्रमा राप्ती, भेरी, मनकामना र त्रिशुल कम्पनीकाे ग्यास बिक्री हुँदै आएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे