थारू समुदायले मनाउने गुरही पर्वको अवसरमा राप्ती–७ का टोल विकास संस्थाहरूद्वारा बृहत् सरसफाइ
भालुवाङ ३१ साउन । दाङको राप्ती गाउँपालिका–७ का विभिन्न टोल विकास संस्थाहरूले थारू समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व गुरही (नाग पञ्चमी) को अवसर पारेर आइतबार आ–आफ्नो टोल क्षेत्रमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन्।
गुरही पर्वलाई सांस्कृतिक तथा सामाजिक सद्भावसँगै आफ्नो गाउँ–टोल सफा र स्वच्छ राख्ने अभियानका रूपमा मनाउने उद्देश्यले टोल विकास संस्थाहरूले सामूहिक रूपमा सरसफाइ कार्यक्रम सञ्चालन गरेका हुन्। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी, युवा, महिला तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो।
सरसफाइका क्रममा टोलका सडक, गल्ली, चोक, सार्वजनिक स्थल तथा आसपासका क्षेत्रमा रहेका फोहोरमैला संकलन गरी व्यवस्थापन गरिएको थियो। साथै, घरआँगन तथा सार्वजनिक स्थान सफा राख्न, जथाभावी फोहोर नफाल्न र वातावरण संरक्षणमा सबैले जिम्मेवार बन्नुपर्ने सन्देशसमेत दिइएको थियो।
थारू समुदायमा गुरही पर्व विशेष महत्वका साथ मनाउने गरिन्छ। नाग पञ्चमीका दिन मनाइने यस पर्वमा गुरही बनाएर गाउँका बालबालिका तथा युवायुवतीहरू सहभागी हुने परम्परा रहेको छ।
पछिल्लो समय गुरही पर्वलाई मौलिक संस्कृति संरक्षणसँगै सामाजिक एकता, सरसफाइ र जनचेतना अभिवृद्धिसँग जोडेर मनाउने अभ्याससमेत बढ्दै गएको छ। स्थानीयहरूले पर्वको अवसरमा गरिएको सामूहिक सरसफाइले टोललाई सफा, सुन्दर र स्वस्थ बनाउन सहयोग पुग्नुका साथै सामाजिक एकता र आपसी सद्भावलाई समेत थप मजबुत बनाएको बताएका छन्।
टोल विकास संस्थाहरूले आगामी दिनमा पनि पर्व तथा विभिन्न अवसरलाई सामाजिक अभियानसँग जोड्दै सरसफाइ, वातावरण संरक्षण र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।
