राप्तीमा सामुहिक सरसफाइ सप्ताह सुरु : स्वच्छ वातावरण निर्माणमा गाउँपालिका सक्रिय



राप्तीमा सामुहिक सरसफाइ सप्ताह सुरु : स्वच्छ वातावरण निर्माणमा गाउँपालिका सक्रिय

भालुवाङ २ जेठ । दाङको राप्ती गाउँपालिकामा “स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण” निर्माण गर्ने उद्देश्य सहित सामुिहक सरसफाइ सप्ताह शुक्रबार देखि औपचारिक रूपमा शुभारम्भ गरिएको छ।

वातावरण संरक्षण, सार्वजनिक स्वास्थ्य प्रवर्द्धन तथा समुदायस्तरमा सरसफाइ प्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ गाउँपालिकाले सप्ताह व्यापी विविध कार्यक्रम सञ्चालन गर्न लागेको हो। सप्ताहको शुभारम्भ गाउँपालिका परिसरमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सहभागीहरूलाई सरसफाइ सम्बन्धी शपथ ग्रहण गराउँदै अभियानको उद्घाटन गरेका थिए । उद्घाटनपछि गाउँपालिका परिसरदेखि प्रदेश गेटसम्म पूर्व–पश्चिम राजमार्गको दुवैतर्फ व्यापक सरसफाइ अभियान सञ्चालन गरिएको थियो। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, विद्यार्थी, शिक्षक, सामाजिक संघसंस्था तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विष्टले स्वच्छ वातावरण नागरिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको बताउँदै सरसफाइलाई केवल अभियानका रूपमा नभई दैनिक व्यवहारमा रुपान्तरण गर्न आवश्यक रहेको उल्लेख गरे । उनले गाउँपालिकालाई सफा, हरियाली र व्यवस्थित बनाउने अभियानमा सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताए । “हामीले आफ्नो घर, टोल, विद्यालय र सार्वजनिक स्थल सफा राख्न सके मात्र स्वस्थ समाज निर्माण गर्न सक्छौं,” अध्यक्ष विष्टले भन्नुभयो, “सरसफाइ संस्कारको विषय हो, यसलाई प्रत्येक नागरिकले आफ्नो जिम्मेवारीका रूपमा लिनुपर्छ।”

गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले स्वच्छ वातावरण निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउँदै सरसफाइ अभियानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिइन् । प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले सरसफाइ सप्ताहलाई प्रभावकारी र परिणाममुखी बनाउन सबै शाखा, वडा तथा सरोकारवाला निकायबीच समन्वयात्मक ढंगले कार्यक्रम सञ्चालन गरिने बताए। गाउँपालिकाको सरसफाइ शाखाका प्रमुख गीता चौधरीका अनुसार सप्ताह अन्तर्गत विभिन्न चरणमा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। उनले जेठ ४ र ५ गते प्लास्टिकजन्य फोहोर संकलन अभियान, बजार क्षेत्र सरसफाइ तथा व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् । प्लास्टिकजन्य फोहोरले वातावरण र मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको अवस्थामा यसको न्यूनीकरणका लागि समुदायस्तरमा जनचेतना फैलाउने उद्देश्यले अभियान अघि बढाइएको उनको भनाइ छ।

त्यसैगरी विद्यालय परिसर तथा कक्षाकोठा सरसफाइ कार्यक्रम समेत सञ्चालन गरिने भएको छ। विद्यालयस्तरबाटै सरसफाइको बानी विकास गर्न सके दीर्घकालीन रूपमा सकारात्मक परिवर्तन आउने विश्वास गाउँपालिकाले लिएको छ। विद्यार्थीहरूलाई वातावरण संरक्षण र सरसफाइप्रति जिम्मेवार बनाउन विद्यालयहरूमा विशेष सचेतनामूलक कार्यक्रम, सरसफाइ अभ्यास तथा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिने बताइएको छ। सरसफाइ सप्ताह अन्तर्गत जेठ ६, ७ र ८ गते नदी, ताल, खोलानाला, मन्दिर तथा सार्वजनिक स्थलहरूको सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ। यसका साथै गाउँघर तथा टोलबस्तीस्तरमा समेत सरसफाइ अभियान विस्तार गरिने भएको छ। गाउँपालिकाले स्थानीय टोल विकास संस्था, आमा समूह, युवा क्लब तथा विभिन्न सामाजिक संघसंस्थासँग समन्वय गरी अभियानलाई प्रभावकारी बनाउने जनाएको छ।

विशेषगरी वर्षायाम नजिकिँदै गर्दा खोलानाला तथा सार्वजनिक स्थलमा थुप्रिने फोहोरले विभिन्न रोग फैलिन सक्ने भएकाले समयमै सरसफाइ अभियान सञ्चालन गरिएको गाउँपालिकाको भनाइ छ। सार्वजनिक स्थलको संरक्षण तथा धार्मिक आस्थासँग जोडिएका मन्दिर क्षेत्र सफा राख्ने उद्देश्यले स्थानीय समुदायलाई समेत सक्रिय बनाइएको छ। यसैबीच गाउँपालिकाले “एक विद्यार्थी, एक बिरुवा” अभियानको पनि शुभारम्भ गरेको छ। वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको उक्त अभियान अन्तर्गत प्रत्येक विद्यार्थीले कम्तीमा एउटा बिरुवा रोप्ने र त्यसको संरक्षण गर्ने जिम्मेवारी लिने व्यवस्था गरिएको छ। विद्यालयस्तरमा सञ्चालन हुने यो अभियानले विद्यार्थीहरूमा वातावरणीय चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

गाउँपालिकाले आगामी दिनमा सरसफाइ तथा हरियाली प्रवर्द्धनलाई दीर्घकालीन अभियानका रूपमा अघि बढाउने जनाएको छ। फोहोर व्यवस्थापन, प्लास्टिक न्यूनीकरण, वृक्षारोपण तथा सार्वजनिक स्थल संरक्षणका कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाको योजना छ । स्थानीयवासीहरूले पनि गाउँपालिकाले थालेको अभियान सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्। नियमित रूपमा यस्ता अभियान सञ्चालन गर्न सके वातावरणीय सुधारसँगै नागरिकको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने उनीहरूको विश्वास छ। राष्ट्रिय सरसफाइ सप्ताह मार्फत राप्ती गाउँपालिका ले स्वच्छता, वातावरण संरक्षण र सामुदायिक सहभागितालाई प्राथमिकतामा राख्दै स्वच्छ र हरियालीयुक्त समाज निर्माणतर्फ महत्वपूर्ण कदम अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे