दुर्गा भवानी आधारभूत विद्यालयको वार्षिक मुखपत्र “दुर्गा वाणी” अंक २ को बिमोचन
भालुवाङ १ जेठ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियामा रहेको दुर्गा भवानी आधारभूत विद्यालयले प्रकाशन गरेको विद्यालयको वार्षिक मुखपत्र “दुर्गा वाणी” अंक २ को शुक्रबार एक कार्यक्रमका बीच बिमोचन गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण भण्डारीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चाैधरीको प्रमुख आतिथ्यतामा मुखपत्रकाे बिमोचन गरिएको हो। मुखपत्र विमोचनपश्चात बोल्दै प्रमुख अतिथि चाैधरीले विद्यालयस्तरमै यस्ता प्रकाशनको थालनी हुनु अत्यन्तै प्रशंसनीय कार्य भएको बताइन् । उनले मुखपत्रले विद्यार्थीहरूमा सिर्जनशीलता, अभिव्यक्ति क्षमता र नेतृत्व विकासमा टेवा पुग्ने उल्लेख गरिन्।
उपाध्यक्ष चाैधरीले विद्यालयलाई केवल पठनपाठनको केन्द्र मात्र नभई, सृजनात्मकता र व्यक्तित्व विकासको आधारस्थलका रूपमा अघि बढाउनुपर्ने धारणा राखिन्। उनले भनिन्, “दुर्गा वाणीजस्ता मुखपत्र प्रकाशनले विद्यार्थीहरूमा लेख्न, सोच्न र समाजसँग जोडिन सक्ने क्षमताको विकास गर्छ। यस्ता प्रयासहरू शिक्षालाई जीवनमुखी बनाउने दिशामा महत्वपूर्ण हुन्छन्।” उनले शिक्षामा गुणस्तर अभिवृद्धिका लागि विद्यालय, अभिभावक, समुदाय र स्थानीय सरकार सबै पक्षको साझा दायित्व रहेको उल्लेख गरिन् । राप्ती गाउँपालिकाले शिक्षा क्षेत्रलाई सधैं प्राथमिकतामा राख्दै आएको भन्दै उनले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक कार्यहरूलाई आवश्यक सहयोग तथा प्रोत्साहन गरिने प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा मुखपत्र बाचन शिक्षिका दया भण्डारीले गरेकी थिइन् भने समीक्षा ऐरावती आदर्श बहुमुखी क्याम्पसका प्रमुख बिक्रान्त ज्ञवालीले गरेका थिए । कार्यक्रममा चैतन्य पाठशालाका प्रबन्ध निर्देशक डा. जीवराज आचार्य, सुशील भट्टराई लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका प्रधानाध्यापक केशबराज आचार्यको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन शिक्षक टोमलाल गैरेले गरेका थि ।

