लुम्बिनीमा विपद् प्रतिकार्य योजना २०८३ को मस्यौदा बनाउन कार्यदल गठन
देउखुरी १६ चैत । लुम्बिनी प्रदेशमा मनसुनपूर्व तयारी बैठकले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउनेगरी योजनाको मस्यौदा बनाउन कार्यदल गठन गरिएको छ । मन्त्रालयअन्तर्गतको विपद् महाशाखा प्रमुखको संयोजकत्वमा विपद् प्रतिकार्य योजना २०८३ तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरिएको हो । गठित कार्यदलले योजनाको मस्यौदा तयार पार्नेछ ।
बैठकमा मन्त्रालयका सचिव विनोद लामिछानेले प्रि–मनसुन अवधिमा देखिएको उतारचढावका कारण तापक्रम बढ्दै जाँदा मानव स्वास्थ्यमा असर पर्ने भएकाले अनुकूलनका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले प्राकृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने पनि उल्लेख गरे ।

बैठकमा जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीले प्रि–मनसुन सम्बन्धी पूर्वानुमान प्रस्तुत गर्दै यस अवधिमा वर्षा सरदर रहने वा केही स्थानमा सामान्यभन्दा बढी हुन सक्ने, तापक्रम सरदर वा सोभन्दा बढी हुन सक्ने तथा हावाहुरी, चट्याङजन्य घटना र आकस्मिक बाढीका घटनामा वृद्धि हुन सक्ने बताए ।
उहाँका अनुसार जलवायु सूचकहरूमा परिवर्तन देखिएको छ । अधिकतम तापक्रम वार्षिक ०.०५ र न्यूनतम तापक्रम ०.०६ डिग्रीले बढ्दै गएको छ । प्रि–मनसुन समयमा तापक्रम वृद्धि अन्य समयभन्दा बढी देखिएको छ । हिउँदमा अधिकतम तापक्रम र मनसुनमा न्यूनतम तापक्रममा सामान्य गिरावट आएको छ । वर्षा वार्षिक रूपमा दुई मिलिमिटरभन्दा बढीले घट्दै गएको तथा मनसुनको कुल वर्षामा कमी आएको उल्लेख गरिएको छ ।

यस्तै भारी वर्षाका दिन भने मनसुन र हिउँदमा बढ्दै गएका छन् भने प्रि–मनसुनमा घटेका छन् । सुख्खा र गर्मी अवधि बढ्दै गएको, चिसोपनाको अवधि सामान्य रहेको तथा हावाहुरी, मेघगर्जन र चट्याङका घटनामा वृद्धि भइरहेको जानकारी दिइएको छ । बैठकले मनसुनपूर्व तयारीलाई थप व्यवस्थित, समन्वयात्मक र प्रभावकारी बनाउन सम्बन्धित सबै निकायलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेकाे छ ।



