एमाले दाङद्धारा ओली र लेखकको तत्काल रिहाईको माग



एमाले दाङद्धारा ओली र लेखकको तत्काल रिहाईको माग

दाङ १५ चैत । नेपाल कम्युनिष्ट पार्टी -एमाले)दाङ जिल्ला कमिटीले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ प्रति कडा विरोध गर्दै जिल्ला प्रशासन कार्यालयमा आज विरोधपत्र बुझाएको छ । एमाले दाङका कार्यवाहक अध्यक्ष मनोहर बुढाथोकीको नेतृत्वको गएको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई विरोध पत्र बुझाएको हो ।

विरोधपत्रमा हिजो विहान पाटी अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्य, मान्यता र कानुनी शासन विपरीत रहेको उल्लेख गरिएको छ। पाटीका नेता कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय अगाडी नाराजुलुस गर्दै बर्तमान सरकारको यस्तो कार्यले विधि, प्रक्रिया र स्थापित मान्यताको उल्लङ्घन गर्दै लोकतन्त्रलाई कमजोर पार्ने प्रयास भएको बताएका छन् । गत भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गठित जाँजबुझ आयोगको प्रतिवेदन सुरुदेखि नै त्रुटीपुर्ण रहेको उल्लेख गर्दै सर्वोच्च अदालतले समेत आयोगबारे गम्भीर प्रश्न उठाइसकेको भन्दै उक्त प्रतिवेदन पूर्वाग्रही र न्यायिक सिद्धान्त विपरीत रहेको ठहर गर्दै विरोध पत्र बुझाएको हो ।

साथै नेताहरुले घटनाको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गर्न र घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन पनि आग्रह समेत गरिएको छ। पुर्वप्रधानमन्त्री ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक गरी राष्ट्रियताको पक्षमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै त्यस्ता व्यक्तित्वलाई नियोजित रूपमा पक्राउ गर्नु अनुचित भएको पत्रमा उल्लेख छ । संविधान, लोकतन्त्र र मानवअधिकारमाथिको ठाडो उल्लङ्घनको रूपमा व्याख्या गर्दै ओली र रमेश लेखकको तत्काल रिहाइको माग गरेको छ। साथै पार्टीले संविधान र लोकतन्त्रको रक्षाका लागि निरन्तर संघर्ष, संवाद र सहकार्यमा रहने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे