राजनीतिक हस्तक्षेप अन्त्य भए मात्र अनुसन्धान थप प्रभावकारी हुन्छ : अध्यक्ष विष्ट
भालुवाङ ८ चैत । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नेपाल प्रहरीको अनुसन्धान क्षमता माथि विश्वास व्यक्त गर्दै राजनीतिक हस्तक्षेप अन्त्य भए प्रहरी झनै प्रभावकारी रूपमा काम गर्न सक्ने बताएका छन् । “नेपाल प्रहरी अनुसन्धानमा अब्बल छ, तर राजनीतिक प्रभावका कारण कतिपय संवेदनशील घटनाहरू ओझेलमा पर्ने गरेका छन्,” उनले भने। हत्या, बलात्कारजस्ता जघन्य अपराधहरू समेत राजनीतिकरणका कारण ढाकछोप हुने प्रवृत्तिले न्याय प्रणाली कमजोर बनाएको उनले बताए ।
राप्ती गाउँपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालय दाङले आइतबार गाउँपालिकाको कार्यालय मसुरीयामा आयोजना गरेको शान्ति सुरक्ष, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धि अन्तरक्रिया एवं सचेतनामूलक कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका अध्यक्ष विष्टले कर्मचारीतन्त्रमा हुने हस्तक्षेप पनि सुशासनका लागि बाधक रहेको उल्लेख गरे। “कर्मचारीलाई स्वतन्त्र रूपमा काम गर्न नदिँदा सेवा प्रवाहमा ढिलाइ र असन्तुष्टि बढ्ने गरेको छ,” उनले थपे। स्थानीय तहले पारदर्शिता र जवाफदेहिता कायम गर्दै जनताको विश्वास जित्नुपर्नेमा उनले जोड दिए।
दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बाेल्दै प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्लामा शान्ति सुरक्षा कायम गर्न सबै सरोकारवाला पक्षबीच समन्वय, सहकार्य र आपसी विश्वास आवश्यक रहेको बताए । उनले स्थानीय प्रशासन ऐन २०२८ ले दिएको अधिकारको प्रभावकारी प्रयोग गर्दै सेवा प्रवाहलाई व्यवस्थित बनाइएको जानकारी दिए। “हामीले कानुन, नियम र प्रक्रिया अनुसार सेवा प्रदान गरिरहेका छौं, तर अझै सुधारका लागि सुझावहरू स्वागतयोग्य छन्,” अर्यालले भने। उनले नागरिकमैत्री प्रशासन निर्माण गर्न डिजिटल प्रणालीको प्रयोग, गुनासो व्यवस्थापन र समयमै सेवा उपलब्ध गराउने प्रणालीलाई थप सुदृढ गरिने प्रतिबद्धता व्यक्त गरे । साथै, शान्ति सुरक्षामा जनसहभागिता महत्वपूर्ण हुने भन्दै समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई अझ सक्रिय बनाइने जानकारी दिए।
अन्तरक्रियामा सहभागीहरूले स्थानीय स्तरमा देखिएका विभिन्न समस्या र समाधानका उपायहरू खुलस्त रूपमा राखेका थिए। विशेषगरी, चोरी–डकैती नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण र सार्वजनिक सुरक्षाका लागि सिसिटिभी क्यामेराको आवश्यकता औंल्याइएको थियो। बिग्रिएका क्यामेराहरू तत्काल मर्मत गर्न तथा आवश्यक स्थानहरूमा नयाँ क्यामेरा जडान गर्न माग गरिएको छ। त्यसैगरी, समाजमा बढ्दो घरेलु हिंसाको मुख्य कारण मदिरा रहेको भन्दै घरेलु मदिरा उत्पादन र बिक्री वितरणमा कडाइ गर्नुपर्ने आवाज उठेको थियो। सहभागीहरूले युवापुस्तामा बढ्दो दुर्व्यसन, बेरोजगारी र सामाजिक विकृति नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमहरू आवश्यक रहेको पनि बताएका थिए। यातायात व्यवस्थापन सम्बन्धी विषय पनि कार्यक्रममा प्रमुख रूपमा उठाइएको थियो। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि ट्रायल समयमै नखुल्दा सेवाग्राहीहरू मारमा परेको भन्दै नियमित रूपमा ट्रायल सञ्चालन गर्न माग गरिएको थियो। साथै, अवैध नदीजन्य पदार्थ उत्खननले वातावरणीय क्षति पुर्याएको भन्दै त्यसमा कडाइ गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको थियो। कार्यक्रममा सञ्चार उद्यमी हेमराज धितालको हत्या प्रकरणबारे पनि चासो व्यक्त गरिएको थियो। सहभागीहरूले घटनाका दोषीलाई यथाशीघ्र पहिचान गरी कानुनी कारबाही गर्न माग गर्दै निष्पक्ष अनुसन्धानको अपेक्षा गरेका थिए। यस विषयमा सुरक्षा निकायका प्रतिनिधिहरूले अनुसन्धान जारी रहेको र दोषीलाई कानुनको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका थिए।
अन्तरक्रियामा टोल विकास संस्थाका अध्यक्षहरू शमसेर केसी, हरिचन्द्र चौधरी, रमेश अधिकारी, भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष मेनुका शर्मा लगायतले समुदायस्तरका समस्या र समाधानका उपायहरू प्रस्तुत गरेका थिए। त्यस्तै पत्रकारहरू सन्तोष कुमार गुप्ता, ओमप्रकाश गुप्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले पनि शान्ति सुरक्षा, सुशासन र सेवा प्रवाहका विषयमा धारणा राखेका थिए। कार्यक्रममा इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरीले आफ्नो इलाका क्षेत्रको गतिविधि सहित स्थानीय सुरक्षाका चुनौती र समाधानका उपायबारे प्रस्तुति दिएका थिए। उनले समुदाय–प्रहरी सहकार्यबाट मात्रै अपराध नियन्त्रण सम्भव हुने भन्दै नागरिकलाई सचेत र जिम्मेवार बन्न आग्रह गरे। “प्रहरी एक्लैले सबै कुरा गर्न सक्दैन, समुदायको सहयोग बिना शान्ति सुरक्षा कायम गर्न कठिन हुन्छ,” उनले भने। जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत विजय गौतमले कार्यालयबाट प्रदान गरिने सेवाहरू, प्रक्रियाहरू र सुधारका पहलहरूबारे जानकारी दिएका थिए। उनले सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाउन विभिन्न सुधारात्मक कदमहरू चालिएको उल्लेख गरे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपनिरिक्षक दिपक श्रेष्ठ, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक लगायतका वक्ताहरूले पनि आ–आफ्ना धारणा राख्दै शान्ति सुरक्षा सुदृढीकरणका लागि साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत विजय गौतमले गरेका थिए भने कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्था, विभिन्न संघसंस्था, सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
