सिसहनियाँ उवासंघद्वारा सिसी क्यामरा जडान र सपीङ झोला सहयोग माग गर्दै ज्ञापन–पत्र



सिसहनियाँ उवासंघद्वारा सिसी क्यामरा जडान र सपीङ झोला सहयोग माग गर्दै  ज्ञापन–पत्र

देउखुरी ८ चैत । दाङ–देउखुरीको राप्ती गाउँपालिका वार्ड नम्बर ५, ६, ७ र ८ मा सिसी क्यामरा जडान तथा मर्मत र प्लाष्टिक न्युनिकरणका लागि कपडाको सपीङ झोला व्यवस्थापन गर्न माग गर्दै सिसहनियाँ उद्योग बाणिज्य संघ सिसहनियाँले आज आईतबार राप्ती गाउँपालिकालाई ज्ञापन–पत्र बुझाएको छ । संघका अध्यक्ष इश्वरीप्रसाद अधिकारीको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष मदन पोख्रेल र उद्योग उपाध्यक्ष भागवत ज्ञवाली सहित गएको टोलीले उक्त माग राख्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टलाई ज्ञापन–पत्र बुझाएको हो ।

साविकको सिसहनियाँ गाविस तथा संघको कार्यक्षेत्र पर्ने हालको राप्ती गाउँपालिका वार्ड नम्बर ५, ६, ७ र ८ मा पर्ने सिसहनियाँ बजार, पिपरी बजार, मिलन चोक, पत्थरगढवा बजार लगायत अन्य व्यस्त बजार क्षेत्रहरुमा दिनानुदिन बढ्दै गरेका चोरीका घटना, सवारीका दुर्घटनाहरु तथा अन्य घटनाहरुलाई न्यूनिकरण गर्नको लागि त्यहाँ जडान भएका सिसी क्यामरा प्रयोगविहीन भएको अवस्थालाई मध्यनजरमा राखी उक्त क्यामरालाई मर्मत सम्मार गरी तत्काल प्रयोगमा ल्याउन तथा अन्य क्षेत्रमा नयाँ क्यामरा जडान माग गरेको छ ।

यस्तै संघले राप्ती गाउँपालिका क्षेत्रलाई सफा र सुन्दर बनाउने उदेश्यका साथ किनमेल गर्ने, बजार खेल्ने, सामान प्याकिङ गर्दा प्लाष्टिकका झोला बढ्दो प्रयोगलाई नियन्त्रण गर्न तथा संघको ११ औं साधारण सभाले कपडाको पुनः प्रयोग हुने सपिङ झोलालाई प्रयोगमा ल्याउन सबैमा अनुरोध गर्ने निर्णय भए बमोजिम कपडाको पुनः प्रयोग हुने सपिङ झोला गाउँपालिकाको तत्काललाई पाँच हजार पिस व्यवस्थापन गरी सहयोग गर्न आग्रह समेत गरेको छ ।

उक्त ज्ञापन–पत्र बुझ्दै गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले राजधानी क्षेत्र अर्थात राप्ती गाउँपालिका भित्र यसै आर्थिक बर्षमा बिग्रेका सिसी क्यामरा मर्मत गर्ने र नयाँ आवश्यकताका अधारमा नयाँ सिसी क्यामरा जडान गर्ने लक्ष्य रहेको बताए । त्यस्तै अध्यक्ष बिष्टले प्लास्टिकजन्य झोला नियन्त्रणका लागि कपडाको सपिङ्ग झोला व्यवस्थापनका लागि स्थानीय सरकारको तर्फबाट पहल लिने प्रतिबद्धता व्यक्त गरे । उनले संघले प्लास्टिक झोला नियन्त्रण गरि कपडाको झोला प्रयोगमा ल्याउन खोज्नु नै सबै भन्दा स्वागतयोग्य बिषय भएको भन्दै चर्चा गरे ।

ज्ञापन–पत्र बुझाउने कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य ओमप्रकाश गुप्ता, संघका प्रेस सल्लाहकार सन्तोषकुमार गुप्ता, राप्ती गाउँपालिकाका प्रेस संयोजक तुलबहादुर कँवर, पत्रकारहरू बिदुर एमसी, मुक्तिराम पौडेल र मोतीराम भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे