गढवामा वन डढेलो सप्ताह सम्पन्न: “डढेलो रोक्न उपभोक्ता जागरुकता अपरिहार्य”
गढवा ३ चैत । “वनमा डढेलो नलगाऔं र लाग्नबाट बचाऔं” भन्ने मूल नारा सहित दाङको गढवा गाउँपालिकामा वन डढेलो सप्ताह–२०८२ सम्पन्न भएको छ। डिभिजन वन कार्यालय दाङको आयोजनामा मंगलबार सम्पन्न कार्यक्रममा वन डढेलो नियन्त्रणका लागि स्थानीय उपभोक्ता तथा नागरिकको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिइएको छ।
सिनियर डिभिजनल वन अधिकृत जिवन पंगेनीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सामुदायिक वन महासंघ जिल्ला शाखा दाङका अध्यक्ष हरी भुसाल विशिष्ट अतिथि रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष पोख्रेलले वन क्षेत्रमा जम्मा भएका पातपतिङ्गर संकलन गरी प्राङ्गारिक मल उत्पादन गर्न तथा अग्निरेखा निर्माणमा सबै उपभोक्ता सचेत हुनुपर्ने बताए । वन डढेलो सामान्य जस्तो देखिए पनि यसले वातावरण, जैविक विविधता र मानव जीवनमै गम्भीर असर पार्ने उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका लागि वन संरक्षणमा सबैको ध्यान जानुपर्ने बताए । विशिष्ट अतिथि भुसालले वन डढेलो नियन्त्रणका लागि कसैको मुख ताकेर बस्ने अवस्था नरहेको भन्दै सामुदायिक वन स्वयं सक्रिय हुनुपर्ने बताए। चोरी सिकारी तथा व्यक्तिगत स्वार्थका कारण आगलागीको जोखिम बढ्दै गएको उल्लेख गर्दै उहाँले ‘शून्य वन डढेलो’ अभियानमा लाग्न सबैलाई आह्वान गरे ।
ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी नायब निरीक्षक मानबहादुर महराले वन डढेलो नियन्त्रणका लागि प्रहरी प्रशासन २४ सै घण्टा तयारी अवस्थामा रहेको जानकारी दिए । आगलागी नियन्त्रणमा अग्निरेखा निर्माण, पानीका मुहान संरक्षणजस्ता उपायमा ध्यान दिनुपर्ने उनको भनाइ थियो। अध्यक्षता गर्दै सिनियर डिभिजनल वन अधिकृत पंगेनीले सामुदायिक वन, स्थानीय तह र सुरक्षा निकायबीचको सहकार्यबाट मात्रै वन डढेलो नियन्त्रण सम्भव हुने बताए । वनलाई जीवनसँग जोडेर संरक्षणमा लाग्नुपर्ने उनको जोड थियो। कार्यक्रममा हेमराज गन्धर्व र जनक गाईनले सारङ्गी रेट्दै वन डढेलो रोकथाम बारे सचेतना मुलक गित प्रस्तुत गरेका थिए। कार्यक्रममा जनता माध्यमिक विद्यालय गढवाका प्रधानाध्यापक रामसुरत यादव, नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाका सभापति उमाकान्त पन्त लगायतले मन्तव्य राखेका थिए । गढवा गाउँपालिका वडा नं. ५ का अध्यक्ष लेखबहादुर थापा, वडा नं. ६ का अध्यक्ष वीरबहादुर आले मगर, विभिन्न सामुदायिक वनका प्रतिनिधि, उपभोक्ता, पत्रकार लगायतको सहभागिता रहेको थियो। कार्यक्रम वन अधिकृत हरि पौडेलको स्वागत मन्तव्यबाट सुरु भई गढवा सब–डिभिजन वन कार्यालयका प्रमुख अनन्त डाँगीले सञ्चालन गरेका थिए ।
