देवीकोट दर्शन दौडमा पुरूष तर्फ डोल्पाका अर्जुन बुढा र महिला तर्फ जुम्लाकी पुर्णलक्ष्मी न्याैपाने प्रथम



देवीकोट दर्शन दौडमा पुरूष तर्फ डोल्पाका अर्जुन बुढा र महिला तर्फ जुम्लाकी पुर्णलक्ष्मी न्याैपाने प्रथम

भालुवाङ २९ फागुन । दाङको राप्ती गाउँपालिकाले शुक्रबार आफ्नो नवाै स्थापना दिवस राप्ती गाउँपालिका-९ देवीकाेटमा मनाएको छ ।

स्थापना दिवसका अवसर गाउँपालिकाले आयोजना गरेको राष्ट्रव्यापी खुला ‘क्रसकन्ट्री देवीकोट दर्शन दौड’ प्रतियोगितामा महिला तर्फ जुम्ला र पुरूष तर्फ डोल्पाले प्रथम पुरस्कार हात पारेको छ । प्रतियोगितामा महिला तर्फ जुम्ला जिल्ला चन्दनाथ नगरपालिका-१० गैरागाउँ निवासी नेपाली सेनामा कार्यरत पुर्णलक्ष्मी न्याैपानेले ४८ मिनेट ०३ दशमलव ०१ सेकेन्डमा दौड पूरा गर्दै प्रथम हुनुभएको छ । त्यस्तै जुम्ला पाताराशी गाउँपालिका-२ पेरे निवासी कल्पना बुढाले ५० मिनेट ३९ दशमलव ०३ सेकेन्डमा द्वितीय र जुम्ला जिल्ला पाताराशी गाउँपालिका-२ पेरेकै सन्देवा बुढाले ५२ मिनेट २४ दशमलव २ सेकेन्डका साथ तृतीय स्थान हासिल गरेका छन् । यसैगरी जुम्लाकी सुन्तली पाण्डे ५८ मिनेट १८ दशमलव १ सेकेन्डमा चौथो, सुदूरपश्चिमकी सरस्वती भट्टराई ५८ मिनेट ०६ दशमलव ४ सेकेन्डमा पाँचौँ र जुम्लाकी अन्तिमा बुढा ५९ मिनेट २१ दशमलव ६ सेकेन्डमा छैटौँ स्थानमा रहेका छन् ।

त्यस्तै पुरूष तर्फ डोल्पा जिल्ला ठुली भेरि नगरपालिका-९ डाँगीवडा निवासी नेपाली सेनामा कार्यरत अर्जुन बुढाले २५ मिनेट ४४ दशमलव ७ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गर्नुभयो । त्यस्तै जुम्ला जिल्ला कन्कासुन्दरी गापा-२ मालिकाबोता निवासी चन्द्र रावतले ३४ मिनेट ४१ दशमलव ६ सेकेन्डका साथ द्वितीय र जुम्ला कन्कासुन्दरी गाउँपालिका-३ लुम निवासी युवकराज बुढाले ३६ मिनेट ५१ दशमलव ९ सेकेन्डमा तृतीय स्थान हासिल गरेका छन् । त्यस्तै तुलसीपुरका विशाल कुमार महत ४० मिनेट ०४ दशमलव २ सेकेन्डमा चौथो, गोरखाका सञ्जय श्रेष्ठले ४१ मिनेट १७ दशमलव ३ सेकेन्डमा पाँचौँ र दार्चुलाका अक्कल पालले ४१ मिनेट १७ दशमलव ५ सेकेन्डमा छैठाैं स्थानमा रहे । प्रतियोगितामा महिला तथा पुरुष दुवै समूहका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूलाई क्रमश ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ नगद र प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा पुरुषतर्फ २ सय ३३ र महिलातर्फ ७७ गरी कुल ३ सय १० खेलाडीले भाग लिएका थिए । राप्ती गाउँपालिका–४ बाट सुरु भई देवीकोट स्थित भद्राक्षीदेवी मन्दिर सम्म करिब ८ किलोमिटरको दाैड रहेको थियोे । प्रतियोगितामा छिमेकी जिल्ला सहित पूर्वको खोटाङ देखि पश्चिमका कैलाली, बाजुरा, डोल्पा, जुम्ला सम्मका खेलाडीहरूले भाग लिएका थिए ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन धार्मिक, सांस्कृतिक तथा खेल पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताएका छन् । मुख्यमन्त्री आचार्यले धार्मिक, सांस्कृतिक तथा खेल पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकाससँगै सामाजिक विकासलाई पनि प्राथमिकतामा राखिएको स्पष्ट पारे । उनले देविकोट क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्व उल्लेख गर्दै यहाँ पर्यटकहरूको आवागमन बढाउन आवश्यक पूर्वाधार विकासमा प्रदेश सरकारले ध्यान दिने बताए । ‘यो ठाउँको महिमा धेरै छ । स्वस्थानी व्रतकथामा आधारित यो स्थान पवित्र भूमि हो । यहाँ पर्यटकहरूको आवागमन बढाउन सकिन्छ,’उनले भने–‘प्रदेश सरकारले यहाँसम्म आउने सडकलाई सधैं सञ्चालनयोग्य बनाउन बहुवर्षीय योजनामा राखेर काम गर्छ । साथै मन्दिरको जीर्णोद्धार र संरक्षणमा पनि विशेष ध्यान दिइने बताए ।

त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले कार्यशैली परिवर्तन गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने बताए । उनले कार्यसम्पादनका आधारमा राप्ती गाउँपालिका देश तथा जिल्लामै उत्कृष्ट रहेको उल्लेख गर्दै उक्त उपलब्धिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले खेललाई पर्यटनसँग जोडेर प्रदेश सरकारले कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले युवाहरूको चाहनाअनुसार खेल पूर्वाधार निर्माण, खेल सामग्री व्यवस्थापन तथा दक्ष खेलाडी उत्पादनका लागि प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिइएको जानकारी दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य इन्द्रजीत थारुले प्रदेश सरकार गठनपछि दुर्गम बस्तीहरूमा आधारभूत विकासका पूर्वाधार विस्तार भएको बताए । सो अवसरमा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गरेका थिए ।

राप्ती गाउँपालिकाको ऐतिहासिक तथा पौराणिक महत्व बोकेको राप्ती गाउँपालिका–९ देवीकोट स्थित भद्राक्षीदेवी मन्दिर क्षेत्रको राष्ट्रव्यापी प्रचारप्रसार तथा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको थियोे । धार्मिक मान्यता अनुसार उक्त स्थानलाई सतिदेवीको देब्रे घुँडा पतन भएको पवित्र स्थलका रूपमा समेत मानिने गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे