राप्तीमा फागुन ३० गते देखि एक महिने निशुल्क योगा तथा जुम्बा फिटनेस शिविर सुरु हुँदै
भालुवाङ २८ फागुन । दाङको राप्ती गाउँपालिका–३ मा रहेको मातृभूमि सेवा केन्द्र नेपालले समुदायको स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले एक महिने निशुल्क योगा तथा जुम्बा फिटनेस कार्यक्रम आयोजना गर्न लागेको छ ।
फागुन ३० गत देखि सुरु हुने उक्त कार्यक्रम राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा सञ्चालन गरिने केन्द्रका अध्यक्ष गीता गिरीले जानकारी दिएकी छिन् ।
अध्यक्ष गिरीका अनुसार पछिल्लो समय मानिसहरू व्यस्त जीवनशैली, अनियमित खानपान र शारीरिक गतिविधिको कमीका कारण विभिन्न स्वास्थ्य समस्याबाट पीडित भइरहेका छन् । यस्ता समस्यालाई कम गर्न तथा स्थानीय बासिन्दालाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्न कार्यक्रम आयोजना गरिएको हो । “स्वस्थ शरीर र स्वस्थ मन नै समृद्ध समाजको आधार हो । यही सोचका साथ हामीले निःशुल्क योगा तथा जुम्बा फिटनेस शिविर सञ्चालन गर्न लागेका हौँ,” अध्यक्ष गिरीले भनिन् ।
शिविरको उद्घाटन फागुन ३० गते बिहान ठीक ६ बजे राप्ती गाउँपालिकाको सभाहलमा गरिने छ । उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, युवायुवतीहरूको उपस्थिति रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ । एक महिना सञ्चालन हुने शिविरमा दैनिक बिहान नियमित रूपमा योग अभ्यास र जुम्बा फिटनेस प्रशिक्षण दिइने छ । शिविरको प्रशिक्षकको रूपमा अनिता महतरा रहने जानकारी पनि केन्द्रले दिएको छ । महतरा लामो समयदेखि योग र फिटनेस प्रशिक्षणमा सक्रिय रहँदै आएकीे प्रशिक्षक हुन् । कार्यक्रम अन्तर्गत सहभागीहरूलाई विभिन्न योगासन, प्राणायाम, ध्यान अभ्यास तथा जुम्बा नृत्यमार्फत फिटनेस प्रशिक्षण दिइने छ । आयोजकका अनुसार कार्यक्रममा महिला, पुरुष, युवा, ज्येष्ठ नागरिक सबैले सहभागिता जनाउन सक्ने छन् ।
योगा र जुम्बाको महत्व
स्वास्थ्य विज्ञहरूका अनुसार योगा र जुम्बा दुवै शरीर र मनलाई स्वस्थ राख्ने प्रभावकारी अभ्यास हुन् । योगाले शरीरलाई लचिलो बनाउने, मानसिक तनाव घटाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ। नियमित योग अभ्यासले रक्तचाप नियन्त्रण, मधुमेह व्यवस्थापन, मोटोपन घटाउने तथा निद्रासम्बन्धी समस्या कम गर्न सहयोग पु¥याउने विश्वास गरिन्छ । यस्तै जुम्बा फिटनेस भने संगीतको तालमा गरिने व्यायाम हो । यसले शरीरको अतिरिक्त बोसो घटाउने, मुटु तथा फोक्सोको क्षमता बढाउने र शरीरलाई सक्रिय राख्ने काम गर्छ । जुम्बाले मानिसलाई रमाइलो वातावरणमा व्यायाम गर्ने अवसर दिने भएकाले पछिल्लो समय यसको लोकप्रियता निकै बढ्दै गएको छ ।
समुदायमा स्वास्थ्य सचेतना बढाउने लक्ष्य
मातृभूमि सेवा केन्द्र नेपालले यसअघि पनि विभिन्न सामाजिक तथा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यसपटकको योगा तथा जुम्बा शिविरले समुदायमा स्वास्थ्यप्रति सकारात्मक सन्देश फैलाउने अपेक्षा गरिएको छ ।
अध्यक्ष गिरीका अनुसार अहिले धेरै मानिसहरू मोबाइल, कम्प्युटर र अन्य प्रविधिको प्रयोगका कारण लामो समय बस्ने बानीमा परेका छन् । यस्तो अवस्थामा नियमित शारीरिक अभ्यास आवश्यक रहेको उनको भनाइ छ । “यदि दैनिक केही समय योगा र व्यायामका लागि छुट्याइयो भने धेरै रोगबाट बच्न सकिन्छ,” उनले भनिन्।
सबैलाई सहभागिताका लागि आग्रह
आयोजकले राप्ती गाउँपालिका तथा आसपासका क्षेत्रका सबै नागरिकलाई शिविरमा सहभागी हुन आग्रह गरेको छ । कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन । स्वास्थ्यप्रेमी जो कोहीले पनि बिहान सभाहलमा उपस्थित भई प्रशिक्षण लिन सक्नेछन् । शिविरमा सहभागीहरूले दैनिक जीवनमा अपनाउन सकिने योग अभ्यास, श्वासप्रश्वास नियन्त्रण, ध्यान विधि र फिटनेस सम्बन्धी विभिन्न अभ्यास सिक्ने अवसर पाउनेछन् । यसले उनीहरूको जीवनशैलीलाई थप स्वस्थ र सकारात्मक बनाउने विश्वास आयोजकले लिएको छ ।
