दाङको राप्ती गाउँपालिका विपद् पूर्वतयारीमा जुट्यो



दाङको राप्ती गाउँपालिका विपद् पूर्वतयारीमा जुट्यो

भालुवाङ २७ फागुन । दाङको राप्ती गाउँपालिकामा सुख्खा मौसम सुरु भएसँगै सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी तीव्र बनाउने निर्णय गरिएको छ ।

गाउँपालिका स्तरीय स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले सम्भावित प्राकृतिक तथा मानवीय विपद् घटनाबाट हुन सक्ने क्षति कम गर्न सम्बन्धित सबै निकायलाई सतर्क र तयारी अवस्थामा रहन आग्रह गरेको छ । मंगलबार राप्ती गाउँपालिकाका अध्यक्ष तथा स्थानीय विपद् व्यवस्थापन समितिका संयोजक प्रकाश विष्टको अध्यक्षतामा गाउँपालिकाको कार्यालय मसुरीयामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले विशेष गरी सुख्खा मौसम सुरु भएसँगै आगलागी, वन डढेलो, बाढी लगायतका विभिन्न प्रकारका विपद् घटनाको जोखिम बढ्न सक्ने भएकाले समयमै तयारी गर्न आवश्यक रहेको निष्कर्ष निकालेको हो । बैठकले राप्ती गाउँपालिकाभित्र रहेका सबै सरोकारवाला निकाय, सामुदायिक संस्था तथा स्थानीय तहका संरचनालाई विपद् व्यवस्थापनका लागि पूर्वतयारीमा जुट्न आग्रह गर्ने निर्णय गरेको छ । गाउँपालिकाले सम्भावित जोखिमको मूल्याङ्कन गर्दै समयमै आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएको छ ।

दोलाई खोलाको जोखिम न्यूनीकरणका लागि उत्खनन सिफारिस
राप्ती गाउँपालिका वडा नम्बर ४, ५, ६ र ८ क्षेत्र भएर बग्ने दोलाई खोलाको बहाव क्षेत्रमा पछिल्लो समय ठूलो परिमाणमा माटो, ग्रेवल, भस्कट तथा गेगर थुप्रिएको कारण वर्षायाममा पानीको बहाव अवरुद्ध भई आसपासका बस्तीमा बाढी पस्ने समस्या देखिँदै आएको छ ।

स्थानीय बासिन्दाले विगतका वर्षहरूमा पनि खोलाको बहाव बढ्दा बस्तीमा बाढी पस्दा जनधनको क्षति व्यहोर्नुपरेको अनुभव गरेका छन् । सोही समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले स्वीकृत गरेको संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन २०८२ मा दोलाई खोलाको बहाव क्षेत्रमा थुप्रिएको माटो तथा ढुंगा–गेगर हटाउने आवश्यकता उल्लेख गरिएको छ । सो प्रतिवेदनका आधारमा बैठकले तोकिएका स्थानबाट खोलाको बहाव क्षेत्रमा थुप्रिएको माटो, ग्रेवल, भस्कट तथा गेगर हटाउन आवश्यक रहेको निष्कर्ष निकालेको छ । त्यसका लागि हेभी मेसिन तथा श्रमिक प्रयोग गरी उत्खनन कार्य गर्नुपर्ने भएकाले आवश्यक अनुमतिका लागि जिल्ला विपद् व्यवस्थापन समिति समक्ष सिफारिस गर्ने निर्णय गरिएको बैठकले जनाएको छ । गाउँपालिकाका अनुसार उक्त कार्य सम्पन्न भएमा वर्षायाममा हुने सम्भावित बाढीको जोखिम कम हुनुका साथै खोलानजिकका बस्तीलाई सुरक्षित बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

विपद् व्यवस्थापनका लागि आवश्यक सामाग्री खरिद गरिने
बैठकले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक कार्यक्रम अन्तर्गत विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री खरिद गर्ने निर्णय पनि गरेको छ। वार्षिक कार्यक्रमको क्रम संख्या २६० अन्तर्गत रहेको विपद् व्यवस्थापन सामग्री खरिद शीर्षकबाट विभिन्न अत्यावश्यक सामग्री खरिद गरिने जनाइएको छ । गाउँपालिकाले आकस्मिक विपद् तथा मानवीय संकटको अवस्थामा तत्काल राहत उपलब्ध गराउनका लागि त्रिपाल, बल्याङ्केट, ठूलो डोरी तथा हँसिया लगायतका सामग्री खरिद गर्ने निर्णय गरेको हो । यी सामग्रीहरू विपद् घटनापछि प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अस्थायी बसोबास व्यवस्थापन गर्न तथा उद्धार तथा नियन्त्रण कार्यमा सहयोग पु¥याउन उपयोगी हुने गाउँपालिकाको विश्वास रहेको छ ।

वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान
सुख्खा मौसम सुरु भएसँगै वन क्षेत्रमा डढेलो लाग्ने सम्भावना बढ्ने भएकाले त्यसलाई नियन्त्रण गर्न गाउँपालिकाले सचेतनामूलक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले राप्ती गाउँपालिका भित्र रहेका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तथा टोल विकास संस्थाका अध्यक्षहरूलाई वन डढेलो नियन्त्रणका विषयमा सचेत गराउने निर्णय गरेको हो । यसका लागि २०८२ फाल्गुन मसान्त भित्र सचेतनामूलक सन्देशसहितको पत्राचार गर्ने व्यवस्था मिलाइने जनाइएको छ । यस कार्यका लागि ‘समृद्धिका लागि वन परियोजना’ अन्तर्गत कार्यरत कर्मचारी विपिन भुसाललाई जिम्मेवारी प्रदान गरिएको छ । उनले गाउँपालिकाभित्रका सामुदायिक वन तथा स्थानीय समुदायसँग समन्वय गर्दै वन डढेलो नियन्त्रण र रोकथामका लागि आवश्यक सचेतना कार्यक्रम सञ्चालन गर्ने छन् ।
गाउँपालिकाका अनुसार मानविय लापरवाही, चरन तथा वन सफाइका क्रममा आगो प्रयोग गर्ने जस्ता कारणले वन डढेलो लाग्ने घटनाहरू हुने भएकाले यसबारे समयमै जनचेतना फैलाउनु आवश्यक रहेको छ ।

आगलागी नियन्त्रणका लागि मिनिदमकल तयारी अवस्थामा
बैठकले आगलागी नियन्त्रणका लागि गाउँपालिकाले सञ्चालन गर्दै आएको मिनिदमकललाई आवश्यक परेको स्थानमा तत्काल उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । सुख्खा मौसममा घर, गोठ तथा जंगल क्षेत्रमा आगलागीका घटनाहरू बढ्न सक्ने भएकाले त्यसको तत्काल नियन्त्रणका लागि दमकल सेवा प्रभावकारी बनाउने तयारी गरिएको हो । यसका लागि गाउँपालिकामा कार्यरत सवारी चालक ओम बहादुर कार्कीलाई जिम्मेवारी प्रदान गरिएको छ । उनलाई आपतकालीन अवस्थामा मिनिदमकल तत्काल परिचालन गरी आगलागी नियन्त्रणमा सहयोग गर्ने जिम्मेवारी दिइएको गाउँपालिकाले जनाएको छ । बैठकले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय सरकार मात्र होइन, समुदाय, सरोकारवाला निकाय तथा नागरिक समाजको सहकार्य आवश्यक रहेको निष्कर्ष पनि निकालेको छ ।

गाउँपालिकाले समयमै पूर्वतयारी, जनचेतना, जोखिम न्यूनीकरण तथा आवश्यक सामग्री व्यवस्थापन गरेमा सम्भावित विपद्बाट हुने क्षति उल्लेख्य रूपमा कम गर्न सकिने विश्वास व्यक्त गरेको छ । राप्ती गाउँपालिकाले आगामी दिनमा पनि विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्भावित जोखिमको पहिचान, रोकथाम तथा उद्धार कार्यलाई व्यवस्थित ढंगले अघि बढाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे