दाङ–१ मा रास्वपाका उम्मेदवार पाठकको सानदार जितपछि क्षेत्रिय सभापति आचार्यद्वारा धन्यवाद तथा आभार व्यक्त



दाङ–१ मा रास्वपाका उम्मेदवार पाठकको सानदार जितपछि क्षेत्रिय सभापति आचार्यद्वारा धन्यवाद तथा आभार व्यक्त

भालुवाङ २६ फागुन । दाङ निर्वाचन क्षेत्र नम्बर १ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा विजय हासिल गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङ क्षेत्र नम्बर १ समितिले मतदाता, सहयोगी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।

समितिका सभापति मोहन आचार्यले जारी गरेको धन्यवाद ज्ञापन वक्तव्यमा दाङ क्षेत्र नम्बर १ भित्र बसोबास गर्ने बुवा–आमा, दाजुभाइ, दिदीबहिनी, पार्टीका विभिन्न पद र तहमा रहेका सम्पूर्ण सदस्यहरू, शुभेच्छुक तथा शुभचिन्तकहरूलाई निर्वाचन अभियानमा पुर्‍याएको योगदानका लागि धन्यवाद दिइएको छ। साथै विदेशबाट समेत सहयोग गर्ने सम्पूर्ण नेपाली समुदायप्रति पनि विशेष कृतज्ञता प्रकट गरिएको छ।

गत २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा देवराज पाठकले प्रत्यक्षतर्फ विजय हासिल गरेका थिए। त्यस्तै समानुपातिकतर्फका उम्मेदवार सुरेन्द्र चौधरीलाई पनि मतदाताहरूले उल्लेखनीय समर्थन दिएका थिए। उक्त निर्वाचन परिणामलाई परिवर्तनको पक्षमा जनताले दिएको स्पष्ट सन्देशका रूपमा पार्टीले लिएको जनाएको छ।

समितिका सभापति आचार्यले मतदाताले देखाएको विश्वास र समर्थनलाई उच्च मूल्याङ्कन गर्दै आम परिवर्तनशील मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। उनले निर्वाचन प्रचार–प्रसारका क्रममा दिनरात खटिने कार्यकर्ता, समर्थक तथा विभिन्न तहबाट सहयोग पुर्‍याउने सबैप्रति पनि विशेष धन्यवाद दिएका छन्। वक्तव्यमा दाङ क्षेत्र नम्बर १ का मतदाताले देखाएको विश्वासलाई सम्मान गर्दै आगामी दिनमा जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ। जनताले चाहेको सुशासन, पारदर्शिता र विकासका मुद्दालाई प्राथमिकतामा राख्दै अगाडि बढ्ने पार्टीको लक्ष्य रहेको उल्लेख गरिएको छ।

रास्वपाले निर्वाचनमा प्राप्त जनसमर्थनलाई जिम्मेवारीका रूपमा लिँदै दाङ क्षेत्र नम्बर १ को समग्र विकास, सुशासनको प्रवर्द्धन तथा जनताको आवाज संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै निर्वाचनका क्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई पुनः धन्यवाद दिँदै आगामी दिनमा पनि साथ र सहयोग निरन्तर रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे