मसुरिया–खुरुरिया जोड्ने सानो नदीमा पक्की पुल निर्माण सुरु
मसुरिया १२ फागुन । दाङको राप्ती गाउँपालिका–३ मसुरिया र खुरुरिया जोड्ने बाटाे अन्तर्गत पर्ने सानो नदीमा पक्की पुल निर्माण कार्य सुरु भएको छ। प्रदेश समपूरक अनुदान अन्तर्गत प्रदेश सरकारको ५५ लाख र गाउँपालिकाको ५५ लाख रुपैयाँ गरी कुल १ करोड १० लाख रुपैयाँ लागतमा पुल निर्माण थालिएको गाउँपालिकाले जनाएको छ।
निर्माण कार्यको जिम्मा काया इन्फास्ट्रक्चर प्रा.लि., प्यूठानले लिएको छ। कम्पनीले आगामी वैशाख महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइरहेको जनाएको छ। मंगलबार गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, वडा नं. ३ का वडा अध्यक्ष उमेश अधिकारी, गाउँपालिकाका इन्जिनियर अशोक बेल्बासे र योजना शाखा प्रमुख अनिल आचार्यले निर्माणाधीन पुलको स्थलगत अनुगमन गरेका हुन् । अनुगमनका क्रममा अध्यक्ष विष्टले तोकिएको समय भित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै विकास निर्माणका काममा कुनै ढिलासुस्ती हुन नदिने स्पष्ट पारे। उनले पुल निर्माण सम्पन्न भएपछि मसुरिया र खुरुरिया क्षेत्रका स्थानीयवासीलाई वर्षायाममा आवतजावत गर्न सहज हुने तथा कृषि उपज बजारसम्म पुर्याउन थप सुविधा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
हाल सानो नदीमा वर्षायाममा पानीको बहाव बढ्दा स्थानीय बासिन्दाले जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ। पक्की पुल निर्माणसँगै यातायात सेवा सहज, सुरक्षित र दिगो हुने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।

