लमहीमा जारी महोत्सवको म्याद पाँच दिन थप, २५ गते समापन हुने



लमहीमा जारी महोत्सवको म्याद पाँच दिन थप, २५ गते समापन हुने

देउखुरी २० माघ । लमहीमा सञ्चालन भइरहेको तेस्रो कृषि, उद्योग, पर्यटन तथा व्यापारिक महोत्सवको अवधि पाँच दिन थप गरिएको छ । यसअघि माघ २० गतेसम्म सञ्चालनका लागि स्वीकृति पाएको महोत्सव अब माघ २५ गतेसम्म सञ्चालन हुने भएको हो । मौसम प्रतिकूलताका कारण महोत्सव सञ्चालन अवधिमै केही दिन बन्द गर्नुपरेपछि आयोजकको आग्रहमा लमही नगरपालिका र जिल्ला प्रशासन कार्यालय दाङले महोत्सव अवधि थपको स्वीकृति दिएको हो ।

बीचमै महोत्सव बन्द हुँदा व्यवसायी, दर्शक तथा सहभागीहरू प्रभावित भएपछि सबै पक्षको हितलाई ध्यानमा राख्दै म्याद थप गरिएको जनाइएको छ । आयोजक संस्था लमही चेम्बर अफ कमर्सका अध्यक्ष किरण कुमार बुढाथोकीले प्रतिकूल मौसमका कारण महोत्सव अपेक्षित रूपमा सञ्चालन हुन नसकेको बताए । “अचानकको वर्षा र मौसम खराबीका कारण केही दिन महोत्सव बन्द गर्नुपर्‍यो,” उनले भने, “त्यसले व्यवसायी र दर्शक दुवैलाई असर पारेकाले सम्बन्धित निकायसँग समन्वय गरी म्याद थप गरिएको हो ।

” महोत्सव व्यवस्थापक बिनोद बुढाथोकीका अनुसार म्याद थप भएसँगै महोत्सव अब नियमित रूपमा सञ्चालन हुनेछ । उनले थपिएको अवधिमा महोत्सवलाई अझ व्यवस्थित, सुरक्षित र आकर्षक बनाइने बताए । “दर्शकको सहज सहभागिता सुनिश्चित गर्न व्यवस्थापन पक्षलाई थप सुदृढ गरिएको छ,” उनले भने, “व्यवसायीहरूलाई पनि आफ्नो कारोबार विस्तार गर्ने थप अवसर मिलेको छ ।”

तेस्रो कृषि, उद्योग, पर्यटन तथा व्यापारिक महोत्सवको मुख्य उद्देश्य स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगका वस्तुहरूको प्रवर्द्धन गर्नुका साथै पर्यटन विकासमा टेवा पुर्‍याउनु रहेको आयोजकले जनाएको छ । महोत्सवमार्फत स्थानीय उत्पादनको बजारीकरण, स्वरोजगार सिर्जना र आर्थिक गतिविधि चलायमान बनाउने लक्ष्य लिइएको छ ।

महोत्सव स्थलमा कृषि उपज, घरेलु उद्योगका सामग्री, हस्तकला, खाद्य परिकार, पर्यटनसम्बन्धी सूचना तथा विभिन्न व्यापारिक स्टलहरू राखिएका छन् । साथै, दैनिक सांस्कृतिक कार्यक्रम, स्थानीय कलाकारहरूको प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रमहरूले महोत्सवलाई थप आकर्षक बनाइरहेको छ ।

आयोजक लमही चेम्बर अफ कमर्सले महोत्सव सफल बनाउन सहयोग गर्ने लमही नगरपालिका, जिल्ला प्रशासन कार्यालय दाङ, सुरक्षाकर्मी, व्यवसायी, पत्रकार, राजनितिक दल, संघसँस्था लगायत सम्पूर्ण दर्शकप्रति धन्यवाद ज्ञापन गरेको छ । मौसम अनुकूल रहेमा माघ २५ गतेसम्म महोत्सव उत्साहपूर्ण सहभागिताका साथ सम्पन्न हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे