जलवायु परिवर्तनले जीविकोपार्जनमा गहिरो असर पारेकाे भन्दै लुम्बिनी प्रदेशमा चिन्ता व्यक्त



जलवायु परिवर्तनले जीविकोपार्जनमा गहिरो असर पारेकाे भन्दै लुम्बिनी प्रदेशमा चिन्ता व्यक्त

देउखुरी ११ माघ । जलवायु परिवर्तनले कृषि, वन, पानी, खाद्य सुरक्षा र समुदायको जीविकोपार्जनमा गहिरो असर पारिरहेको भन्दै लुम्बिनी प्रदेशमा चिन्ता व्यक्त गरिएको छ । जलवायु परिवर्तनको बढ्दो असर न्यूनिकरण गर्न सरकारको स्पष्ट नीति, पर्याप्त बजेट र प्रभावकारी कार्यक्रम आउन जरुरी रहेको निष्कर्ष समेत निकालिएको हो ।

प्रदेश सभा सदस्यहरु संग आयोजना गरिएको प्रशिक्षण तथा संवाद कार्यक्रममा यस बारेमा छलफल गरिएको थियो । जलवायू परिवर्तनको असरको प्रत्येक्ष मारमा महिला, दलित, आदिवासी तथा विपन्न समुदाय बढी परेको, यस सन्दर्भमा जलवायु न्याय सुनिश्चित गर्न नीतिनिर्माण तहमा महिलाको सशक्त र अर्थपूर्ण भूमिका अपरिहार्य रहेकोमा जोड दिइएको छ ।

प्राकृतिक स्रोत महिला अधिकार सञ्जाल को आयोजना तथा खाद्य तथा कृषि संस्थाको सहयोगमा आयोजित कार्यक्रममा २० जना महिला प्रदेशसभा सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रम सञ्जालकी सचिव अञ्जली थापाको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

साे अवसरमा बाेल्दै सभामुख घर्तीले नेपालीहरूकाे कारण नभई दक्षिण तर्फ रहेकाे भारतकाे गतिबिधिका कारण जलबायूमा असर पुर्याएकाे बताए । उनले पहाडी भेग तीब्र गतिमा सडक सञ्जाल बिस्तारले पानीका मुहानहरू सुक्दै गएकाेमा चिन्ता व्यक्त गर्दै सभामुख घर्तीले जलवायु अनुकलन राख्न सन्तुलित विकास आजकाे आवश्यकता रहेकाे बताए ।

लुम्बिनी प्रदेशसभा कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठक, सामुदायिक वन उपभोक्ता महासंघ दाङका जिल्ला अध्यक्ष हरिप्रसाद भुसाल, वन तथा वातावरण मन्त्रालयका पूर्व सह–सचिव डा. सिन्धुप्रसाद ढुंगाना लगायतले नीति निर्माणदेखि बजेट विनियोजनसम्म महिलाको प्रभावकारी उपस्थिति आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रमको विषय प्रवेश तथा स्वागत मन्तव्य सञ्जालकी सल्लाहकार भारती पाठकले गरेकी थिइन् । भने सञ्चालन ग्रिन फाउन्डेसन नेपालका कार्यक्रम अधिकृत अरबिन पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे