गायक प्रकाश सपुतले ‘बोल माया’ गीत गाउँदा लालमटिया महोत्सव भावुक बन्यो
भालुवाङ ११ माघ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङद्वारा दाङको राप्ती गाउँपालिका–२ लालमटिया टुडिखेलमा सञ्चालन भइरहेको महोत्सवको सोह्रौँ दिन चर्चित गायक प्रकाश सपुतको प्रस्तुतीले महोत्सव स्थल भावुक बनेको छ।
कार्यक्रमका क्रममा गायक सपुतले प्रस्तुत गरेको लोकप्रिय गीत ‘बोल माया बोल’ ले दर्शकलाई निकै भावुक बनायो। विशेषगरी विदेशमा रहेका आमाबुवाका छोराछोरीको पीडालाई झल्काउने गीत प्रस्तुत हुँदा महोत्सव स्थल केही समय स्तब्ध जस्तै बनेको थियो। त्यससँगै सपुतका अन्य मनछुने गीतहरूले दर्शकको मन छोएको आयोजकले जनाएको छ। भावुक क्षणपछि भने गायक सपुतले माहोललाई फेरि रमाइलो बनाउँदै आफ्ना लोकप्रिय र उत्साहजनक गीतमार्फत दर्शकलाई नचाए। सपुतका गीतमा दर्शकहरू उफ्रिँदै नाच्दा महोत्सव स्थल केही समय धुलाम्यसमेत बनेको थियो।
यसैगरी महोत्सवमा अर्की गायिका लालुमाया कुवर, गायिका तथा उद्घोषिका शोभा त्रिपाठी, गायक कृष्ण लामिछाने, हेमराज खड्का, गायक तथा उद्घोषक राजेश भण्डारी लगायतका कलाकारहरूले आ–आफ्ना प्रस्तुतीमार्फत दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए।
महोत्सवले स्थानीय कला, संस्कृति र मनोरञ्जनलाई प्रवर्द्धन गर्नुका साथै दर्शकको उल्लेख्य सहभागिता बढ्दै गएको आयोजकको भनाइ छ। यसै बीच महोत्सवको आज अन्तिम दिन गायक रमेशराज भट्टराई, गायक कमल बिसी माइला दाइ लगायतका कलाकारहरू आउन लागेको आयोजकले जानकारी दिएको छ । महोत्सवको आजै विहान ११ बजे समापन समेत गरिने आयोजकले बताएको छ ।

