गोरखा आइडियल स्कुलका बालबालिकाहरूले नाटक र गीत मार्फत दिए जनचेतनामूलक संदेश
भालुवाङ १० माघ । दाङको राप्ती गाउँपालिका–२ लालमटियामा रहेको गोरखा आइडियल स्कुलका विद्यार्थीहरूले नाटक तथा गीतको माध्यमबाट जनचेतनामूलक सन्देश दिएका छन्।

आइतबार विद्यालयले आयोजना गरेको पुर्व प्राथमिक तथा प्राथमिक तह अन्तरगत युकेजीका बालबालिकाहरूको प्रस्तुति तथा अभिभावक शिक्षा कार्यक्रम मार्फत बालबालिकाहरूले जंक फुड सेवन गर्न नहुने सन्देश नाटक मार्फत प्रस्तुत गरेका थिए भने ट्राफिक नियम पालनाको महत्व गीत मार्फत उजागर गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले जंक फुडले स्वास्थ्यमा पार्ने नकारात्मक असरहरू देखाउँदै घरमै बनाइने पौष्टिक खानाको महत्वसमेत प्रस्ट पारे। त्यस्तै, ट्राफिक सचेतनासम्बन्धी गीतमा सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना आवश्यक रहेको सन्देश दिइएको थियो। कार्यक्रम हेर्न आएका अभिभावक, शिक्षक तथा स्थानीयबासीहरूले विद्यार्थीहरूको प्रस्तुतीको प्रशंसा गर्दै यस्ता गतिविधिले बालबालिकामा सिर्जनशीलता बढ्नुका साथै समाजमा सकारात्मक सन्देश फैलिने बताएका छन्। विद्यालय प्रशासनले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि यस्ता व्यावहारिक र सन्देशमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

विद्यालय सञ्चालक समिति सदस्य लोकमान रिजालको अध्यक्षता एवम् लावान्य इन्टरनेशनल काठमाडौंकी निर्देशक पुजा शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा काठमाडौं विश्व विद्यालयबाट २२ जना शिक्षकहरूलाई ४८ घण्टाको आवधिक तालिमको शैक्षिक प्रमाणपत्र समेत वितरण गरिएको थियो । साथै कार्यक्रममा नर्सरी देखि कक्षा ४ सम्मका बालबालिकाहरूको प्रस्तुति राखिएको थियो । विद्यालयका प्रिन्सिपल बसन्त बहादुर पुनको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन शिक्षिका पुजा गुरूङले गर्नु भएको थियो । कार्यक्रममा ६ सय अभिभावक र ४०० बढी बालबालिकाहरूको उपस्थिति रहेको थियो ।

