ज्ञानोदय माविमा सरस्वती देवी मन्दिरको उद्घाटन तथा मुर्ति स्थापना : शिक्षक गगन शर्मा सम्मानित



ज्ञानोदय माविमा सरस्वती देवी मन्दिरको उद्घाटन तथा मुर्ति स्थापना : शिक्षक गगन शर्मा सम्मानित

सिसहनियाँ ९ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका–६ पत्थरगढवामा रहेको ज्ञानेदय माध्यमिक विद्यालयमा बसन्त पञ्चमी एवं सरस्वती पूजाको अवसर पारेर शुक्रबार नवनिर्मित सरस्वती देवी मन्दिरको उद्घाटन तथा मूर्ति स्थापना गरिएको छ।

विभिन्न संघसंस्था, दाताहरू र शिक्षक कर्मचारीबाट संकलन गरिएको ४ लाख ६५ हजारको लागतमा मन्दिर निर्माण तथा मुर्ति स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक बसन्तराज घिमिरेले बताएका छन् । नवनिर्मित मन्दिरको उद्घाटन तथा मूर्ति स्थापना राप्ती गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कुमार चाैधरीकाे अध्यक्षता, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे प्रमुख आतिथ्य र उपाध्यक्ष कमलापति चौधरीकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले सरस्वती देवी जस्तै बन्न विद्यार्थीहरू अनुशासित, नम्र स्वभाव र आफ्नो कर्मलाई निरन्तरता दिन सके मात्र सफलता प्राप्त हुने बताए । उनले शिक्षा पाठ्यपुस्तकमा मात्र सीमित नरही संस्कार, नैतिकता र जीवनोपयोगी ज्ञानसँग जोडिनुपर्ने बताए । अध्यक्ष विष्टले धार्मिक तथा सांस्कृतिक संरचनाले विद्यार्थीहरूमा अनुशासन, सकारात्मक सोच र सिर्जनशीलता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । उनले विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै शैक्षिक पूर्वाधार विकाससँगै नैतिक मूल्य, संस्कार र सकारात्मक शैक्षिक वातावरण निर्माणमा जोड दिनुपर्ने बताए।

गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीले नवनिर्मित सरस्वती मन्दिरले विद्यार्थीहरूमा ज्ञानप्रतिको सम्मान र अध्ययनप्रतिको लगनशीलता अभिवृद्धि गर्ने उल्लेख गर्दै विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यबाट मात्र शिक्षाको गुणस्तर सुधार सम्भव हुने बताइन् । कार्यक्रममा कक्षा १२ मा शैक्षणिक विधि तथा मूल्याङ्कन, शिक्षा तथा विकास विषयमा सत प्रतिशत नतिजा निकाल्न सफल भएका शिक्षक गगन शर्मालाई विद्यालयले सम्मान गरेको थियो । सो अवसरमा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरी, विद्यालयका प्रधानाध्यापक बसन्तराज घिमिरे लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक किसुनलाल चाैधरीले गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–अभिभावक संघका प्रतिनिधि, शिक्षा प्रेमी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे