गाेरखाका विद्यार्थीहरूद्वारा बगरापुर होमस्टे तथा थारु संग्रहालयको अवलोकन
देउखुरी ५ माघ । दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-२, लालमटियामा अवस्थित गाेरखा आइडियल स्कुल र गाेरखा माेडेल सेकेन्डरी स्कूल लमहीका विद्यार्थीहरूले लागि राप्ती गाउँपालिका-६, बगरापुरमा रहेकाे राप्ती थारू सामुदायिक हाेमस्टे तथा संग्रहालयकाे अध्ययन अवलाेकन गरेका छन् । स्कूलकाे बार्षिक कार्यक्रम अन्तर्गत प्रत्येक बर्ष माघी पर्वलाई लक्षित गरि दुबै विद्यालयमा अध्ययनरत कक्षा ६ का विद्यार्थीहरूका लागि उक्त अध्ययन अवलाेकन गरिएकाे हाे ।

थारु समुदायको कला, संस्कृति र जीवनशैलीबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले स्कूलले प्रत्येक बर्ष जस्तै यस बर्ष पनि कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरूलाई नियमित कार्यक्रम गर्दै आएकाे गाेरखा आइडियलका प्रिन्सिपल बसन्तबहादुर पुनले जानकारी दिए । उनले विद्यार्थीहरूलाई होमस्टे र संग्रहालय ल्याउनुको मुख्य उद्देश्य, आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुका साथै अन्य जातजातिलाई थारु समुदायको मौलिकता बुझाउनु रहेको बताए । हाेमस्टेका अध्यक्ष प्रेमलाल चाैधरीकाे अध्यक्षता एवम् महेन्द्र बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक देवनारायण चाैधरीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा बाेल्ने बक्ताहरूले थारु समुदायको पहिचानलाई नयाँ पुस्तासम्म पुर्याउन र सांस्कृतिक पर्यटनको विकासमा महत्वपूर्ण शैक्षिक भम्रणले थप भूमिका खेल्ने बताएका थिए । सा अवसरमा बाेल्दै कार्यक्रमका प्रमुख अतिथी महेन्द्र बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक चाैधरीले थारु जातिको इतिहासबारे प्रकाश पारेका थिए भने सभापति प्रेमलाल चौधरीले वर्षभरि मनाइने विभिन्न पर्वहरूको महत्त्वबारे बताउका थिए । साथै उनले शैक्षिक भ्रमणकाे आवश्यकता र महत्त्व लगायतकाे बिषयमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक मनाेज चाैधरी, पत्रकार सन्ताेषकुमार गुप्ता, बिदुर एमसी, ललित अबिरल, बालकृष्ण थापा लगायतका वक्ताले बाेलेका थिए । शैक्षिक भ्रमण कार्यक्रममा गाेरखा माेडेल सेकेण्डरी स्कुल लमहीका १४५ र गाेरखा आइडियल स्कूल लालमटियाका ८० गरि २२५ जनाकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन हाेमस्टेका सचिव हरिचन्द्र चाैधरीले गरेका थिए ।


