देउखुरीको उत्तर मजगाउँमा माघ साँस्कृतिक महोत्सव : संस्कार, संस्कृति संरक्षणमा जोड
भालुवाङ २९ पुस । दाङ देउखुरीको लमही नगरपालिका–३ उत्तर मजगाउँमा माघ साँस्कृतिक महोत्सव २०८२ मंगलवार सम्पन्न भएको छ । लमही नगरपालिका वडा नम्बर ३ को आर्थिक सहयोगमा थारु साहित्य–संस्कृति प्रतिष्ठानले माघ सांस्कृतिक महोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाको अध्यक्षता एवम् लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै नगर प्रमुख चौधरीले आफ्नै संस्कार र संस्कृतिलाई कहिल्यै भुल्न नहुने बताएका छन् । उनले संस्कार र संस्कृति नै समुदायको पहिचान भएको उल्लेख गर्दै यसलाई संरक्षण र प्रवद्र्धन गर्नु सबैको साझा दायित्व भएको बताए । उनले आधुनिकता सँगै आफ्ना मौलिक परम्परा, भाषा र संस्कृतिको जगेर्ना गर्न आवश्यक रहेको धारणा राखे । कार्यक्रममा उनले यस्ता सांस्कृतिक महोत्सवले नयाँ पुस्तालाई आफ्नै संस्कृति प्रति आकर्षित गर्ने विश्वास व्यक्त गर्दै स्थानीय तहले सांस्कृतिक पहिचान संरक्षणका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । कार्यक्रममा लमही नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेल, वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य ओमप्रकाश गुप्ता, वडा नम्बर ३ का वडा सचिव आनन्द योगी, वडा सदस्य कृष्णा गिरी, फल्कापुरका कट्कन्दार पुनाराम चौधरी र स्थानीय लक्ष्मी चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

महोत्सवमा थारु समुदायको मौलिक कला, संस्कृति र भेषभूषा झल्किने विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा थारु समुदायका स्थानीय कलाकारहरूले परम्परागत नाच प्रस्तुत गर्दै दर्शकहरूको मन जितेका थिए । महोत्सव मार्फत थारु समुदायको पहिचान, भाषा, संस्कृति तथा परम्पराको संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ । स्थानीय तहको सहकार्यमा आयोजना गरिएको यस किसिमका सांस्कृतिक कार्यक्रमले समुदायबीच आपसी सद्भाव र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । वडा नम्बर ३ का सदस्य सुमन कुमार अधिकारीको स्वागत मन्तव्य रहेको माघी महोत्सवको संचालन यम चौधरीले गरेका थिए ।


