लालमटियामा महोत्सव सुरू : कृषि, पर्यटन र संस्कृतिलाई अर्थ सँग जोड्न जरूरी छ : मन्त्री न्याैपाने
भालुवाङ २५ पुस । लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्याैपानेले परम्परागत खाना, कृषि, पर्यटन तथा कला संस्कृतिलाई अर्थ सँग जोड्न सक्नुपर्ने बताए ।
दाङको राप्ती गाउँपालिका-१ भालुवाङमा रहेको राप्ती उद्योग वाणिज्य संघले राप्ती गाउँपालिका–२ लालमटिया टुडिखेलमा शुक्रबार देखि सुरू गरेको ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२ को उद्घाटन गर्दै मन्त्री न्याैपानेले सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका मन्त्री न्याैपानेले विभिन्न जातजातिका परिकार, कला संस्कृति वर्षमा १ पटक मात्र नदेखाएर त्यसलाई व्यवसायीक रूपमा सञ्चालन गरेर आयआर्जन गर्ने वातावरण बनाउनु पर्ने र यहाँका कला संस्कृतिलाई बिक्री गर्न सक्नुपर्ने बताए । त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री इन्द्रजित थारूले निजी पुँजी भन्दा राष्ट्रिय पुँजी कमजोर हुँदा देशमा लगानीमैत्री वातावरण बन्न नसकेको बताए । सरकारले राष्ट्रिय पुँजी बलियो बनाउन लगानीमैत्री वातावरण सिर्जना गर्बनुपर्ने बताए ।त्यस्तै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले राप्ती गाउँपालिका कृषि र पर्यटनको क्षेत्रमा अत्यन्त सम्भावना बोकेकोले त्यसको खोजी सरकारले गर्ने र लगानीको वातावरण निजी क्षेत्रले गर्न सक्नुपर्ने बताए ।
संघका अध्यक्ष सुरज खड्काको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्याैपानेको प्रमुख आतिथ्यतामा भएको महोत्सव उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिका-२, नम्बर वडा अध्यक्ष पहलवान चाैधरी, नेकपा एमालेका भरतमणि न्याैपाने, नेपाली कम्युनिस्ट पार्टीका नारायण शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी राप्ती गाउँपालिका अध्यक्ष दोर्ण जिसी, राष्ट्रिय जनमोर्चाका ठाकुर आचार्य नेपाल कम्युनिस्ट पार्टी माओवादीका प्रकाश शाही, राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य किशोर आचार्य, राप्ती उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष होमप्रसाद शर्मा, निर्वतमान अध्यक्ष जगतप्रसाद पोख्रेल, ऐरावती आदर्श बहुमुखी क्याम्पसका प्रमुख विक्रान्त ज्ञवाली, भालुवाङ खानेपानी सरसफाइ तथा उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर गुरूङ, देउखुरी उद्योग वाणिज्य संघ लमहीका कोषाध्यक्ष अखबर अलि, पत्रकार महेश रिजाल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले जब सम्म सरकारले उद्यम र पर्यटन क्षेत्रमा लगानी नलगाउँदा सम्म उद्यम क्षेत्रको विकास हुन नसक्ने बताएका छन् । उनीहरूले सरकारका अधिकांश कार्यक्रम नारामा मात्र समिति रहेको गुनासो समेत गरेका छन् । संघका वरिष्ठ उपाध्यक्ष बसन्त गिरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संघका महासचिव बासुदेव न्याैपानेले गरेका थिए ।
लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका देउखुरी भित्र रहेका अपार सम्भावना बोकेका र अवसरको खोजीमा रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धधनमा थप टेवा पुग्ने, कला संस्कृतिको संरक्षण सँगै स्थानीय स्तरमा उत्पादीत वस्तुहरुको बजारीकरण गर्नुको साथै उत्पादनमा बृद्धि गरी आर्थिक पक्ष सवल गराउने र संकलित रकमले कार्यालय भवन सहित अन्य संरचना निमार्ण तथा मर्मत गर्ने उदेश्य रहेको छ । महोत्सवमा विभिन्न १ सय ५९ स्टलहरु रहेका छन् । जसमा करिव २० वटा कृषि तथा उद्यम विकासका स्टल राखिएको छ । महोत्सव अवधीभर करीब १ लाख २० हजार बढी दर्शकले महोत्सवको अवलोकन गर्ने र १ करोड बढीको कारोवार हुने अनुमान रहेको संघका अध्यक्ष सुरज खड्काले जानकारी दिए । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती सँगै महोत्सवको मुख्य आकर्षकको रुपमा चर्के पिङ, बाल उद्यान, लगायतका मनोरञ्जन रहेका छन् । भने स्टलमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला प्रर्दशनी राखिएकाे छ ।
महोत्सवको उद्घाटनका दिन विभिन्न जातजाति तथा कला संस्कृति झल्कने २७ वटा झाकी प्रदर्शन गरिएको थियोे । उत्कृष्ट झाकी मध्ये प्रथम हुनेलाई नगद १० हजार, दोसो हुनेलाई नगद ७ हजार र तेस्रो हुनेलाई ५ हजार र सान्त्वना स्वरुप ३–३ हजार नगद प्रदान गरिने अध्यक्ष खड्काले जानकारी दिए । महोत्सव अवधीभर प्रवेश शुल्क प्रति व्यक्ति १०० रुपैया, विद्यार्थीका लागि ८० रुपैयाँ र जेष्ठ नागरिक तथा अपाङगता भएका नागरिकहरुलाई परिचयपत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले बताएको छ ।

