प्रेस मञ्चद्धारा फोहोरमैला व्यवस्थापन केन्द्रमा भएको आगलागीका विषयमा तत्काल छानविन गर्न माग



प्रेस मञ्चद्धारा फोहोरमैला व्यवस्थापन केन्द्रमा भएको आगलागीका विषयमा तत्काल छानविन गर्न माग

भालुवाङ २४ मंसिर । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले राप्ती गाउँपालिका–२ पुन्यपुरमा रहेको फोहोरमैला व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागीका विषयमा तत्काल छानविन गर्न माग गरेको छ ।

मञ्चले बिहिवार इलाका प्रहरी कार्यालय भालुवाङ र राप्ती गाउँपालिका कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै सो माग गरेका हुन् । गत मंसिर २६ गते भएको आगलागीको घटनाले स्थानीय तथा सरोकारवाला सवैमा गम्भीर चिन्ता र जिज्ञासा पैदा गरेको मञ्चको ठहर छ । उक्त आगलागीका कारण वातावरणीय प्रदूषण, स्वास्थ्य जोखिम तथा सार्वजनिक सम्पत्तिमा करोडौंको क्षति पुगेकोे विषय सर्वविदित भएको र घटनाबारे हाल सम्म आगलागीको वास्तविक कारण, क्षतिको विवरण तथा जिम्मेवारीको विषयमा स्पष्ट जानकारी सार्वजनिक नभएकाले स्थानीय समुदाय तथा सरोकारवालाहरु सवै अन्योलमा परेको साथै भविष्यमा यस्ता घटनाहरू दोहोरिन सक्ने जोखिम बढेको मञ्चले बुझाएको ध्यानाकषर्ण पत्रमा उल्लेख छ ।

मञ्चले उक्त आगलागी घटनाको निष्पक्ष, पारदर्शी तथा गहन छानबिन गरी आगलागीको वास्तविक कारण पत्ता लगाउन, भएको क्षतिको यथार्थ मूल्यांकन गर्न यदि लापरवाही वा कमजोरी देखिएमा सम्बन्धित पक्षमाथि आवश्यक कारबाही गर्न माग गरेको छ । त्यस्तै मञ्चले भविष्यमा यस्ता घटना नदोहोरिन ठोस सुरक्षा तथा व्यवस्थापनका उपायहरू अवलम्बन गर्न माग समेत गरेको छ । मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारीको नेतृत्वमा गएको टोलीले उक्त ध्यानाकर्षण पत्र इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरी र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई बुझाएको छ ।

ध्यानाकर्षण पत्र बुझाउन मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गप्ता, उपाध्यक्ष बलराम शाही (भिसुन), महिला उपाध्यक्ष हुमा सुनार, महासचिव ओमप्रकाश गुप्ता, कोषाध्यक्ष लक्ष्मी पोख्रेल, सह–कोषाध्यक्ष लालमणि भुसाल र सदस्यहरु मोतीराम भट्टराई, मुक्तिराम पौडेल, किरण जिसी गएका थिए । ध्यानाकषर्ण पत्र बुझाउनु अघि मञ्चको नियमित बैठक राप्ती गाउँपालिका–२ लालमटियामा बसेको थियो । मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले सो ध्यानाकर्षणपत्र बुझाउने निर्णय गरेको थियो । यस्तै राप्ती गाउँपालिका–२ लालमटिया टुडिखेलमा राप्ती उद्योग वाणिज्य संघले पुस २५ गते देखि सञ्चालन गर्न लागेको महोत्सवको मञ्चले व्यापक प्रचारप्रसार गर्ने निर्णय समेत गरेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे