लालमटिया महोत्सवको सम्पूर्ण तयारी पूरा : भाेली महोत्सवको उद्घाटन मन्त्री न्याैपानेले गर्ने



लालमटिया महोत्सवको सम्पूर्ण तयारी पूरा : भाेली महोत्सवको उद्घाटन मन्त्री न्याैपानेले गर्ने

भालुवाङ २४ पुस । दाङको राप्ती गाउँपालिका–२ लालमटिया टुडिखेलमा भोलि पुस २५ गते देखि सञ्चालन हुन लागेको  ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।

राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा सञ्चालन हुन लागेको महोत्सवको तयारी पूरा भएको संघका अध्यक्ष सुरज खड्काले जानकारी दिएका छन् ।लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका देउखुरी भित्र रहेका अपार सम्भावना बोकेका र अवसरको खोजीमा रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धधनमा थप टेवा पुग्ने, कला संस्कृतिको संरक्षण सँगै स्थानीय स्तरमा उत्पादीत वस्तुहरुको बजारीकरण गर्नुको साथै उत्पादनमा बृद्धि गरी आर्थिक पक्ष सवल गराउने र संकलित रकमले कार्यालय भवन सहित अन्य संरचना निमार्ण तथा मर्मत गर्ने उदेश्यले महोत्सव सञ्चालन गर्न लागेको संघका अध्यक्ष खड्काले जानकारी दिए ।

महोत्सवको उद्घाटन बिहान ११ बजे लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्याैपानेले गर्ने संघका अध्यक्ष खड्काले बताए । महोत्सवमा विभिन्न १ सय ५० वटा स्टलहरु रहेका छन् । जसमा करिव २० वटा कृषि तथा उद्यम विकासका स्टल राखिएको छ । महोत्सव अवधीभर करीब १ लाख २० हजार बढी दर्शकले महोत्सवको अवलोकन गर्ने र १ करोड बढीको कारोवार हुने अनुमान रहेको संघका अध्यक्ष खड्काले जानकारी दिए । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती सँगै चर्के पिङ, बाल उद्यान, लगायतका मनोरञ्जन रहेका छन् । भने स्टलमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन रहने छ । महोत्सवको उद्घाटनका दिन प्रदर्शन गरिने झाँकी मध्ये प्रथम हुनेलाई नगद १० हजार, दोसो हुनेलाई नगद ७ हजार र तेस्रो हुनेलाई ५ हजार र सान्त्वना स्वरुप ३–३ हजार नगद प्रदान गरिने अध्यक्ष खड्काले जानकारी दिए ।  महोत्सव अवधीभर प्रवेश शुल्क प्रति व्यक्ति १०० रुपैया, विद्यार्थीका लागि ८० रुपैयाँ र जेष्ठ नागरिक तथा अपाङगता भएका नागरिकहरुलाई परिचयपत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । संघका अध्यक्ष सुरज खड्का संयोजक रहने गरी मुल आयोजक समिति गठन गरी महोत्सवलाई भव्य तथा सभ्य बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे