आशाका किरण संस्थाद्वारा नेपाल राष्ट्रिय माविका विपन्न बालबालिकालाई न्यानो कपडा वितरण
भालुवाङ २३ पुस । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले ६० जना विपन्न बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
राप्ती गाउँपालिका–१, भालुवाङ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत ६० जना गरिब तथा विपन्न परिवारका बालबालिकालाई संस्थाले न्यानो कपडा वितरण गरेको हो । अत्यधिक चिसो बढेसँगै बालबालिकाको स्वास्थ्यलाई समेत ध्यानमा राखी बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको संस्थाका महासचिव लोकमणी भुसालले जानकारी दिएका छन् । चिसो मौसम, कमजोर आर्थिक अवस्था र पर्याप्त न्यानो कपडाको अभावका कारण कतिपय विद्यार्थी स्कुल सम्म आउन नसक्ने र आएपनि कक्षाकोठामा बस्न असहज महसुस गर्ने अवस्था देखिएको विद्यालय प्रशासनले जनाएको छ । चिसोकै कारण विद्यालयमा शिशु कक्षा देखि कक्षा ५ सम्म अध्ययनरत धेरै विद्यार्थीहरू रुघाखोकी, ज्वरो तथा चिसो जन्य संक्रमणबाट प्रभावित भएका थिए ।
यही समस्यालाई मध्यनजर गर्दै आशाका किरण संस्थाले विद्यार्थीहरूको स्वास्थ्य, सुरक्षा र पठनपाठनमा सहजता ल्याउने उद्देश्य सहित स्विटर र टोपी वितरण कार्यक्रम आयोजना गरेको हो । न्यानो कपडाले चिसोबाट जोगिन मद्दत पु¥याउने मात्र होइन, विद्यार्थीहरूको विद्यालय उपस्थिति र सिकाइ निरन्तरतामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर मरासिनी, शिक्षक अभिभावक संघका संयोजक नारायणप्रसाद शर्मा, विद्यालयका प्रधानाध्यापक देव ओली, आशाका किरण संस्थाका अध्यक्ष दिवस आचार्य, महासचिव लोकमणि भुसाल, संस्थापक अध्यक्ष सूर्यकिरण केसी, सदस्यहरू बन्दना पुन र दिलमाया घर्ती, शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीय समाजसेवीहरूको समेत सहभागिता रहेको थियो ।
