प्रगतिनगर शहरी खानेपानीको आठौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न
सिसहनियाँ १९ पुस । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष खेमराज वलीले शुद्ध खानेपानीको प्रयोगले करिब ८० प्रतिशत रोगबाट बच्न सकिने बताएका छन्।
प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, राप्ती गाउँपालिका–८ पिपरीको आठौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष वलीले मानव जीवनमा लाग्ने अधिकांश रोग अशुद्ध खानेपानीकै कारण हुने उल्लेख गरे। “मानव जातिलाई लाग्ने करिब ७० प्रतिशत रोग अशुद्ध खानेपानीका कारण हुन्छन्,” उनले भने, “खानेपानीको उचित व्यवस्थापन र शुद्धिकरणमा ध्यान दिन सके विभिन्न रोगबाट बच्न सकिन्छ।” उनले शुद्ध खानेपानी मानव जीवनका लागि अत्यावश्यक भएकाले यस क्षेत्रमा सरकारले थप लगानी गर्नुपर्ने आवश्यकता पनि औँल्याए।
कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गणतन्त्र स्थापना पश्चात् तीनै तहका सरकारको पहलमा ९५ प्रतिशत नागरिकको घरघरमा खानेपानी पुर्याउने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताए। उनले राप्ती गाउँपालिकाका अधिकांश वडामा शुद्ध खानेपानीको पहुँच पुगिसकेको जानकारी दिँदै बाँकी वडामा पनि छिट्टै खानेपानी पुर्याउने लक्ष्यका साथ लगानी भइरहेको बताए। संस्थाका अध्यक्ष भरत प्रसाद पाण्डेको अध्यक्षता तथा महासंघका केन्द्रीय अध्यक्ष खेमराज वली र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। सभामा सचिव तिर्थराज ज्ञवालीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष लुमबहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
साधारणसभाका अवसरमा विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो। सम्मानित हुनेहरूमा गरिब तथा विपन्न उपभोक्ताको तर्फबाट जवाहारलाल चौधरी र माधव रावत, संस्थापक कार्यसमितिबाट पूर्व उपाध्यक्ष भिमा आचार्य, पूर्व सचिव ओमनाथ बञ्जाडे, पूर्व कोषाध्यक्ष अर्जुन अधिकारी, पूर्व सदस्य वीरबहादुर चौधरी, तुलाध्वज मल्ल, ठगेन्द्र परियार, निर्मला चौधरी र प्रतिमा आचार्य रहेका छन्। संस्थाका उपाध्यक्ष नारायणी पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन समारोहमा भालुवाङ खानेपानी तथा सरसफाइ उपभोक्ता समूहका अध्यक्ष हस्तबहादुर गुरुङ, राप्ती गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन संस्थाका सचिव तिर्थराज ज्ञवालीले गरेका थिए।

