राप्तीमा इसाई समुदायहरुले मनाए ख्रिष्टमस महोत्सव



राप्तीमा इसाई समुदायहरुले मनाए ख्रिष्टमस महोत्सव

भालुवाङ १० पुस । दाङको राप्ती गाउँपालिकामा इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा बिहीबार ख्रिष्टमस महोत्सव आयोजना गरिएको छ। राप्ती गाउँपालिका–३ स्थित सिरिचौरमा राप्ती गाउँपालिका स्तरीय इसाई समुदायको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रम राप्ती गाउँपालिका स्तरीय इसाई समुदायका अध्यक्ष टुकमान समाल मगरको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विष्टले क्रिसमस डेले विविधता बीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे । उनले यस्ता धार्मिक तथा सांस्कृतिक पर्वहरूले विभिन्न समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्ने बताए। “प्रेम, क्षमा, दया र शान्तिको सन्देश बोकेको यस पर्वले मानवता, समानता र सेवाभावलाई बलियो बनाउँदै सामाजिक एकता कायम गर्न प्रेरणा दिन्छ,” अध्यक्ष विष्टले भने, “असल आचरण, शान्तिपूर्ण जीवनशैली र भाइचाराको प्रवर्द्धनमा क्रिसमस डेले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गर्दछु।”

त्यस्तै, गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले धार्मिक तथा सांस्कृतिक विविधता नै नेपालको पहिचान भएको उल्लेख गर्दै सबै धर्म, संस्कृति र समुदायलाई समान अवसर प्रदान गर्दै अघि बढ्नु पर्ने धारणा राखिन् । “धर्म फरक भए पनि मानवता साझा हो,” उपाध्यक्ष चौधरीले भनिन्, “यस्ता पर्वहरूले आपसी समझदारी, सहअस्तित्व र सामाजिक सद्भावलाई थप मजबुत बनाउँदै समाजमा शान्ति र सकारात्मक सोच फैलाउन सहयोग पुर्‍याउँछन्।” कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरी, बिजुवार सु समाचार चर्च प्यूठानका पास्टर देबु गिरी, इसाई धर्मावलम्बी अगुवा गरिबु चौधरी, पास्टर राजन रायमाझी, जयप्रकाश घर्ती तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमका अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो। राप्ती गाउँपालिका स्तरीय इसाई समुदायका उपाध्यक्ष निशु प्रसाद चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव रामकृष्ण सुन्दास र पत्रुस कुमालले गरेका थिए । इसाई धर्मका अनुयायीहरूले येशु ख्रिष्टको जन्मदिनको अवसरमा प्रत्येक वर्ष डिसेम्बर २५ तारिखलाई धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रम आयोजना गरी ‘क्रिसमस डे’ मनाउने परम्परा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे